काठमाडौं । नेपालमा मनसुन केहि कमजोर देखिए पनि अझै केहि दिन वर्षा जारी रहने मौसमविद्हरुले जनाएका छन् । देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले सबैलाई सचेत गराएको छ । वर्षाका कारण देशको पहाडी भू-भागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा रहेकाले मनसुनि गतिविधि देशभर सक्रिय बनेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । अहिले देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली रहेको र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको उनले बताएका छन् ।

अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आउँदो तीन दिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै मंगलबार पनि दिनभर मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राति भने देशभर मौसम पूर्ण बदली भई वर्षा हुने सम्भावना छ ।

यस्तै साउन १ गते बुधबार पनि देशैभर दिनभर बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार पूर्वी क्षेत्रमा मौसम बढी सक्रिय हुने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

मध्य तराईका रातो, खाडो, गागल लगायतका नदीमा बाढी आउन सक्नेभन्दै बाढी पूर्वानुमान शाखाले सचेत गराएको छ । भारतबाट ठूलो वर्षा गराउने बादल नेपाल प्रवेश गरेकाले थप वर्षाका कारण नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हो ।

मध्य तराईसँगै काठमाडौं उपत्यकामा पनि राति ठूलो पानी परेको छ । यस्तै निरन्तरको वर्षाका कारण पूर्वका झापा, मोरङ, इलाममा पनि वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको हो ।

यस्तै महोत्तरीको भप्सीखोलामा पानीको सतह बढेर पुल जोखिम परेकाले पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । बिहान ४ बजेदेखि खोलामा पानीको सतह बढेपछि बेलिब्रिज भत्किन सक्ने भन्दै पुलमा गाडीको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गए रातिदेखि पूर्व, मध्य र पश्चिम क्षेत्रका केही पहाडी तथा तराईका जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।