झापा । भद्रपुर सडक खण्ड अहिले पनि निर्माणको चरणमा छ । बिर्तामोडवासीको लामो पर्खाइ पछि पूर्ब–पश्चिम राजमार्ग अन्तरगत मुक्ति चोकबाट भद्रपुरसम्मको चार लेनको १४ किलोमिटर सडकखण्ड निर्माण कार्य शुरु गरिएको हो । पहिलो चरणमा चार किलोमिटर सडक खण्ड चार लेनको बनाउन थालिएसँंगै नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले सडक आसपासका विद्युतीय संरचना सार्दै बिर्तामोडको सडक फराकिलो बनाउन सहज बनाएको छ ।

सडक निर्माणका क्रममा सडक विभागले नेपाल विद्युत प्राधिकरण अनारमनीलाई ५६ लाख रुपैयाँ प्रदान गरेसंगै सडक किनारका विद्युतीय पोल सार्ने काम भएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख इञ्जिनियर जीतेन्द्रकुमार झाले जानकारी दिए ।

स्मार्ट सिटीको अबधारणा सहित बिर्तामोड-भद्रपुर सडक खण्ड निर्माण भइरहेको र सडक आसपासका विद्युतीय संरचनाहरु सार्ने काम भइरहेको बताइएको छ । सडक विभागसँंगको सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले तीन किलोमिटर क्षेत्रफल भित्र एक सय ३० वटा विद्युत पोल सार्न लागिएको हो । सारिएका सबै विद्युत पोल ११ मिटर अग्ला हुने बताइएको छ ।

यसअघि बिर्तामोडमा ९ मिटर अग्ला पोलबाट विद्युत सेवा प्रदान गरिँदै आएको थियो । नयाँ ढंगबाट सडक निर्माण शुरु भएसंँगै ११ मिटर अग्ला पोल गाडिएको र एउटै पोलमा हाइटेन्सन, फोरफेस र टुफेसका छुट्टाछुट्टै तार राखेर विद्युत प्रवाह गरिन लागेको हो ।

विद्युत पोल सार्दै सडकलाई फराकिलो बनाउन प्राधिकरणले सहयोग पु¥याएसँंगै बिर्तामोडलाई स्मार्ट सिटीको अवधारणामा सहयोग पुग्ने बताइएको छ । यसअघि ९ मिटरका पोलमा जथाभावी केवल, टेलिफोन, इन्टरनेटका तार टाँगिदा विर्तामोड आफैंमा कुरुप जस्तै थियो ।

तर, बिर्तामोड– भद्रपुर सडक खण्ड चार लेनको बनाउन शुरु गरिएसँंगै प्राधिकरणले समेत नयाँ ढंगले काम शुरु गरेपछि बिर्तामोडलाई स्मार्ट सिटी बनाउन सहयोग पुग्ने भएको हो । ६८ हजार ग्राहक संख्या रहेको नेपाल विद्युत प्राधिकरण अनारमनीमा दिनानु दिन विद्युत प्रयोगकर्ताको संख्या बढ्दो रहेको नेपाल विद्युत प्राधिकरणका प्रमुख झाले बताए ।

प्रादेशिक संरचना अनुसार हरेक स्थानीय तहले विकास निर्माणलाई प्राथमिकता दिँदा पहिलो प्राथमिकतामा सडक निर्माण, मर्मत र स्तरोन्नति नै पर्ने गरेको छ । सडक निर्माणका क्रममा विद्युत पहिलो बाधक भएपनि नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले सबैसंँग समन्वय गर्दै सडक छेउका विद्युतीय संरचना हटाएर विकास निर्माणमा सहयोग पु¥याउँदै आएको बताइएको छ ।