फिदिम । पाँचथरसहित पूर्वी पहाडी जिल्लामा यो सिजनमा देखिएको चरम खडेरीका कारण धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो बर्षको यही सिजनभन्दा यो बर्ष आधा मात्रै रोपाइँ भएको छ ।
अघिल्लो बर्ष यही सिजनमा पाँचथरमा ६० प्रतिशत रोपाइँ सकिएको थियो । अहिले ३५ प्रतिशतमात्रै रोपाइँ भएको छ । एक सातादेखि परेको पानीका कारण त्यति रोपाइँ भएको हो । पानी परेपछि रोपाइँ सुरु भएको हो । एक सातादेखि पानी परिरहेको छ । यो क्रम जारी रहने हो भने साउन पहिलो सातासम्ममा आधाभन्दा धेरै रोपाइँ सकिने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी नरहरि निरौलाले जानकारी दिए ।
दक्षिण पाँचथरमा भने रोपाइँको क्रम समेत सुरु भएको छैन । उत्तरी पाँचथरका केही ठाउँमा भएको रोपाइँले यस बर्ष धानिराखेको ज्ञान केन्द्रले जनाएको छ । पाँचथरमा मात्रै ९२ दशमलव ०३ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।
चरम खडेरीका कारण दक्षिणी पाँचथरका कुम्मायक र तुम्बेवा गाउँपालिकाका बासिन्दा खाद्य संकटको चपेटामा पुगेका छन् । घरपालुवा बस्तुलाई खुवाउनसमेत पानीको अभाव भएको क्षेत्रमा सिँचाइका लागि कुनै सम्भावना नरहेको स्थानीयले जानकारी दिए । पछिल्लो दुई दिन परेको पानीले केही राहत मिलेको कृषकले बताएका छन् ।
यसअघि लगाइएको मकैसहितको नगदेबाली पूर्णरुपमा क्षति भएको छ । तरकारी समेत करेसाबारीमा नबचेपछि समस्या भएको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले जानकारी दिए ।
उता ताप्लेजुङ जिल्लाको अवस्था पनि उस्तै छ । अघिल्लो बर्षको सोही समयको तुलनामा यो बर्ष त्यहाँ पनि रोपाइँ हुन सकिरहेको छैन । पाँचथर र ताप्लेजुङ दुबै जिल्लामा काम गरिरहेको कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार अहिलेसम्म ताप्लेजुङमा ३९ प्रतिशत मात्रै रोपाई भएको छ । अघिल्लो बर्र्ष यही सिजनमा करिव ५० प्रतिशत भन्दा रोपाइँ सकिएको थियो । पाँचथरसहित पूर्वी पहाडी जिल्लामा चलेको चरम खडेरीले समस्या भएको हो । धान खेतीका लागि तत्काल पानी परे ठूलै क्षति नहुने भए पनि मकैसहितका अन्य बालीमा समस्या देखिएको कृषकको भनाइ छ ।
यो क्षेत्रमा कृषि उपजमध्ये सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ । समयमा पानी नपरेका कारण यो बर्ष बाली लगाउन नपाएका कृषकलाई खडेरीकै कारण मकै उत्पादनमा समेत समस्या हुने देखिएको छ । फल लाग्ने समयमा खडेरीका कारण मकै बारीमै सुकेका छन् । अब जतिसुकै पानी परे पनि मकैले उत्पादन दिन सक्ने अवस्थामा नरहेको कृषक समुह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले बताए ।
मकैबालीमा मात्रै यो सिजनको खडेरीका कारण करिब ४५ प्रतिशत उत्पादनमा कमी हुने देखिएको छ । उनले भने, ‘मकैसंगै लगाइएका जरेबालीहरु दाल, बदामसहितका नगदे र तरकारी बालीमा ठुलो क्षति छ ।’
जिल्लाका दक्षिण पाँचथरका तुम्बेवा र कुम्मायक गाउँपालिकाका पुरै गाउँ, फिदिम नगरपालिकाका केही क्षेत्र, हिलिहाङ गाउँपालिकको सुभाङ बाहेकका गाउँ खडेरीका कारण समस्यामा छन् ।