झापा । अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको विल्भरह्याम्पटन सिटी काउन्सिलबीच ‍‌‍‌‍औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना भएको छ ।

औपचारिकरुपमा बिहीबार पूर्वी नेपालको अर्जुनधारा नगरपालिकासँग विल्भरह्याम्पटन सिटी लण्डनको मित्रता सम्झौता भएको हो।सम्झौतामा भनिएको छ, ‘यो कदम भनेको दुवै पक्षहरूको फाइदाको लागि सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटन हितलाई बढावा दिन र प्राविधिक सहयोगको प्रोत्साहन गर्न दुई शहरहरू बीचको सम्बन्ध बलियो हुनेछ।’

बुधबार राति भएको पूर्ण परिषदको बैठकमा औपचारिकरूपमा सहमति भएको थियो र विल्भरह्याम्पटर सिटीकोप्रमुख क्लेयर डार्गे र अर्जुनधारा नगरपालिकाका तर्फबाट मेयर हरिकुमार रानाबीच सम्झौता भएको हो । सिटीका उपमेयर र युनाइटेड किंगडमका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रोहवरका रुपमा थिए ।

सम्झौतापछि विल्भरह्याम्पटन सिटी प्रमुख क्लेयर डार्गे र अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाबीच सम्झौतापत्र आदान प्रदान भएको थियो । भगिनी सम्बन्ध विस्तारका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल पनि मेयर रानासँगै लण्डन पुगेका थिए । विल्भरह्याम्पटन सिटीमा एउटा सानो तर सक्रिय नेपाली समुदाय रहेको ‘नेपाली समाज’ रहेको छ, यस सम्झौताले नेपाली संस्कृति र नेपाली समुदायको बारे जानकारी दिन सक्ने विश्वास लिइएको छ ।

विल्भरह्याम्पटन सिटीका मेयर काउन्सिलर क्लेयर डार्गेले भने, ‘हामी अर्जुनधारा नगरपालिकासँग नजिकको सम्बन्ध बिस्तार गर्नका लागि नजिकमा रहेको नेपाली राजदूतद्वारा सम्पर्क गरिरहन्छौँ ।’

यस्तै, नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले भने, ‘म विश्वास गर्छु कि विल्भरह्याम्पटन सिटी र नेपालको अर्जुनधारा शहरबीचको शहरी मित्रताको स्थापनाले नेपाल र नेपालीबीचको द्वीपक्षीय सम्बन्धमा थप सहयोग पुग्नेछ ।’

यो सम्झौताले दुवै देशका साना शहरबीच आआफ्नो संस्कार, संस्कति, रहनसहन, व्यापारिक, पर्यटन र शैक्षिक क्षेत्रको बारेमा सम्बन्ध विस्तार हुने त्यहाँबाट विश्वास लिइएको छ ।