इलाम । विगत ३ दिनेदेखि मेची राजमार्गको राँके-फिदिम खण्डमा पहिरो झरेपछि यात्रु हिडेर गाडी फेर्नुपर्ने वाध्यता छ। फाल्गुनन्द गाउँपालिका ३ पाङ्ग्रेभिरमा बुधबार राति पहिरो झरेको थियो। पहिरो झरेको ३ दिन वितिसक्दा समेत अझै यथावत रुपमा सवारी चल्न सक्ने वातावरण निर्माण हुन सकेको छैन।
तराइबाट पाँचथर-ताप्लेजुङ जाने यात्रु उत्रिएर आधा घण्टा हिडदै अर्को गाडी फेरेर निर्धारित गन्तव्यसम्म पुग्नुपर्ने वाध्यात्मक स्थिति रहेको पाँचथरका ट्राफिक प्रमुख जनक तिम्सिना बताउँछन्। मेची राजमार्गमा बर्खा समयमा बारम्बार पहिरोको जोखिम बढ्दो छ। झापा इलामको सिमाना जोरकलश देखि ताप्लेजुङको घारिल्लासम्मको मेची राजमार्ग खण्डमा ३ दर्जन बढी साना ठूला पहिरो रहेका छन्।
मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डमा यस्ता थुप्रै स्थान छन, जहाँ जुनसुकै बेला पनि प्राकृतिक प्रकोपको खतरा छ। बर्खाको बेला कतिवेला कहाँ पहिरो जान्छ कसैले थाहा हुँदैन। ७ वर्षअघि इलामको हर्कटे क्षेत्रमा पहिरो जाँदा गाडीसँगै १४ जनाको एकै ठाउँमा चिहान बन्यो। भारी वर्षाबीच गुड्दै गरेका गाडी एकाएक पासोमा झैँ पहिरोको चपेटामा परे। त्यसयता यस स्थानमा मजवुत पर्खाल बनाएपछि पहिरो गएको छैन।
ताप्लेजुङ सदरमुकाम छिर्ने ठाउँ नजिकैकैको हाङदेवा क्षेत्रमा पहिरो नगएको वर्ष नै छैन। कतिपय अवस्थामा एक सातासम्म बाटो खुल्ने आशामा पर्खनु पर्ने अवस्था समेत रहेको छ। राजमार्गका विभिन्न स्थानमा भौगोलिक कारणले जोखिम बढ्दै गएको छ। डाँडालाई आधार बनाएर बनाइएको यस सडकमा पहिरोको जोखिम पनि उत्तिकै छ।
ताप्लेजुङ-पाँचथरको सिमाना काबेली नदीदेखि माथि बहानन्देसम्मको सडकलाई बढी जोखिमपूर्ण मानिन्छ। यो सडक खण्डमा सडक अवरुद्ध नभएको वर्ष छैन। वर्षातको समयमा ताप्लेजुङ–पाँचथर सडक खण्ड सबैभन्दा बढी अवरुद्ध हुन्छ। कमजोर भूवनोट र सडकनजिकै मानवीय संरचना बनाउने कार्यले सडक धस्ने क्रम बढदो छ। इलाम नगरपालिकाको माइखोला माथिको राजदुवाली क्षेत्रमा सडक धस्सिने क्रम रोकिएको छैन।
वर्षेनी सामान्य सडक मर्मत गर्दा पनि पार नलागेपछि अहिले ५ करोडको लागतमा ‘रक एङरिङ’ प्रविधिबाट जोखिमयुक्त १५० मिटर सडक निर्माण गरेको छ। पहिरो रोकथाम बजेट छैन मेची राजमार्ग क्षेत्रको २५० किलोमिटर क्षेत्रलाई रेखदेख गर्दै आएको डिभिजन सडक कार्यालय इलामले पहिरो रोकथामको लागी भनेर बजेट विनियोजना गरेको छैन।

सडक मर्मत शिर्षकमा ८ करोड बजेट विनियोजना भएको डिभिजन सडकमा आपतकालिन उद्धार र मर्मतका नाममा ५ लाख रुपैयाँमात्र छुट्याइएको डिभिजन प्रमुख प्रमुख कृष्णनाथ ओझाले बताए। मर्मत शीर्षकको बजेट उप्किएको पिच टाल्नमै खर्च हुने गरेको छ। ‘पहिरो रोकथाम भनेर बजेट छुट्याइएको छैन’, उनले भने, ‘चालु आर्थिक वर्षमा पहिरो बढी जाने ठाउँको पहिचान गरेर रोकथामको लागि बजेट माग गर्ने तयारी भइरहेको छ।’
उनले साना पहिलो रोकथामको लागि तार जाली लगाउने र घाँस रोप्ने काम भइरहेको बताए। ताप्लेजुङको खहरे, खोक्से र ल्याङवाको भाग चट्टान धेरै खस्न सक्ने भाग हो। यसको बाहिरपट्टी नै चट्टानको पत्र देखिने गरेको छ। पाँचथरको गणेशचोक, भालुचोक र पौवाभञ्याङ क्षेत्रमा पनि ससाना पहिरो र भेलबाढीले वर्सेनी सडक भत्काउने गरेको छ। यस क्षेत्रमा ठूलो पहिरो नगए पनि ढिस्काहरू र भित्तामा अड्किएका ठूला ढुंगा झर्ने हुँदा घण्टौँसम्म सवारी अवरुद्ध हुने गरेको छ। थाहा खबरबाट