विराटनगर । पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोसी र मेची राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेको छ ।

सिद्धिचरण राजमार्गको बेतेनी-घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका-११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइनमेन्ट’ नै परिर्वतन गर्नुपर्ने अवस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ । पूरै सडक पहिरोले बगाएपछि नयाँ ट्र्याक खोलेर सञ्चालन गर्ने तयारी भइरहेको छ । यो राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङ जिल्लामा औषधि र खाद्यान्न अभाव हुन थालेको छ ।

पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गकोपाङ्ग्रेभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन । यसबाट तीन जिल्ला प्रत्यक्ष प्रभावित छन् । पाँचथरको निबु खोलानजिकै पहिरो खसेपछि आउजाउ कठिन भएको हो । पहिरो पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग बनाउन थालिएको छ । कोसी राजमार्गको धरान-धनकुटा खण्डमा गएको पहिरो हटाउन ३ महिना लाग्ने भएको छ । असार अन्तिम साताको अविरल वर्षाका कारण यो खण्डको ५२ किलोमिटर सडकका दर्जनौं ठाउँ क्षतिग्रस्त छ । पहिरो हटाउन समय लाग्ने भए पनि यो राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

ठाँटीभन्ज्याङ क्षेत्रमा पहिरोले सिद्धिचरण राजमार्ग पूरै बगाएकाले ‘एलाइनमेन्ट’ परिवर्तन गरेर ४० मिटरमाथि नयाँ ट्र्याक खोल्ने तयारी गरिएको छ । भइरहेको सडक पहिरोमा परेपछि ४० मिटरमाथिबाट झन्डै ५ सय मिटर लामो ट्र्याक खोल्नुपरेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।

‘पहिरोले गर्दा सडक पूरै भत्किएकाले हाइट कटिङ गरेर बेस बनाउनुपर्ने हुन्छ’, सडक डिभिजन लहानका प्रमुख विनोदकुमार साहले भने, ‘आधार नै भत्किएकाले एलाइनमेन्ट परिवर्तन गर्नुपरेको छ ।’ एलाइनमेन्ट परिवर्तन गरेर नयाँ ट्र्याक खोल्नुपरेकाले सडक सुचारु हुन कम्तीमा साता लाग्ने उनले बताए ।

राजमार्गको माथिल्लो खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । मिर्चैया-कटारी र कटारी-बेतिनी खण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी-घुर्मी खण्ड पूर्ण अवरुद्ध छ । ‘अवरुद्ध खण्ड सुचारु गर्न सडक डिभिजनले सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ’, प्रमुख साहले भने, ‘भौगोलिक कठिनाइ, मेसिन औजार प्रयोग गर्नेसम्मको स्थान नहुँदा समस्या जटिल छ ।’ सडक कार्यालयले दिनरात काम गरिरहे पनि दीर्घकालीन समस्या समाधान हुने खालको काम नभएको उनले बताए ।

ठाँटीभन्ज्याङमा सडक बगेको र लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको छ । २५ किलोमिटर क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन भने सर्वसाधारणलाई हिँड्न पनि समस्या रहेको वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए । राजमार्ग अवरुद्ध हुँदा औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुँदै गएको छ ।

माथिल्लो सगरमाथाका लागि आपूर्ति गरिने खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । ‘माथिल्लो सगरमाथाका सोलु, ओखलढुंगा र खोटाङ जिल्लाका लागि कटारीबाट दैनिक उपभोग्यलगायत वस्तुको आपूर्ति गरिन्छ’, अध्यक्ष खड्काले भने, ‘कटारीबाट विकल्पमा अन्य बाटो भएर माथिल्लो क्षेत्र जान सकिँदैन ।’ त्यसैले एकमात्र विकल्प सिद्धिचरण सञ्चालन नहुँदा समस्या भएको उनले बताए ।

२०५६/५७ सालतिर सिद्धिचरण राजमार्ग खुलेको हो । त्यसपछि बर्सेनि करोडौं रुपैयाँ खर्चेर मर्मत गरिँदै आएको छ । नाम मात्रको मर्मतले बर्सेनि समस्या हुने गरेको स्थानीयले बताए । ‘गत वर्ष पनि डिभिजन सडक लहानले ३ करोडभन्दा बढी रकम खर्चेर सिद्धिचरणको मर्मत गरेको हो’, कटारी नगरपालिका-११ का वडाध्यक्ष दीपक बुढाथोकीले भने, ‘ठाँटीभन्ज्याङमा मात्रै १० करोडभन्दा बढी खर्च भइसक्यो होला ।’ तर, बर्सेनि त्यहीं समस्या हुने गरेको उनले बताए ।

मेची राजमार्गअन्तर्गत पाँचथरको निबु खोलानजिकै पहिरो खसेपछि आउजाउ कठिन भएको छ । कृषिउपज र उपभोग्य सामग्री ढुवानी रोकिएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग बनाउन थालिएको छ । गुम्बाडाँडा हुँदै पद्मकन्या आधारभूत विद्यालयदेखि नाल्बुङ, राँके जोड्ने ७ किलोमिटर वैकल्पिक सडक मर्मतसम्भार थालिएको हो ।

यात्रुहरू पहिरो भएको स्थानबाट आधा घण्टा हिँडेर अर्को गाडीमा चढ्ने गरेका छन् । पहिरो करिब ५ सय मिटरमा फैलिएको छ । पहिरो पन्छाउँदा माथिबाट फेरि खस्ने सम्भावना रहेको भन्दै जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिले शुक्रबार वैकल्पिक सडक बनाउन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको थियो । दुवै तहका सरकारसँग समन्वयमा साढे चार किमि ट्र्याक खोल्न ३ वटा एस्काभेटर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । वर्षा सुरु भएयता यो सडक १७ औं पटक अवरुद्ध भएको हो ।

सुक्खा पहिरो जारी रहेकाले तत्काल खुलाउने अवस्था नदेखिएको राँके बजार व्यवस्थापन समितिका अध्यक्ष शिरी विष्टले जानकारी दिए । ‘पहिरोका कारण सबैभन्दा क्षति सागसब्जीमा भएको छ’, उनले भने, ‘एक पिकअप टमाटर पहिरो कटाउन १० हजारसम्म खर्च गर्नुपरेको छ, मान्छेलाई बोकाएरै भए पनि हिजो १० पिकअप टमाटर राँकेतर्फ ल्याइएको थियो ।’ ठूलो परिमाणमा उत्पादित टमाटर गाउँमै कुहिन थालेको छ । पाँचथर क्षेत्रमा यतिबेला आलु,कोपी, टमाटरलगायत सागसब्जी उत्पादन हुन्छ ।

लोड गरिएका पिकअपभित्र क्यारेटमै गोलभेंडा कुहिएपछि व्यवसायी सडकमै फ्याँकेर घर फर्किन थालेका छन् । चार दिन पर्खिंदा पनि सडक नखुलेकाले गोलभेंडा फ्याँकेर फर्किनुपरेको बिर्तामोडका व्यवसायी नवराज उप्रेतीले बताए । उनले मात्रै याङवरकबाट ५ वटा पिकअपमा गोलभेंडा लोड गरेका थिए । त्यसमध्ये ६० प्रतिशत कुहिएको उनको भनाइ छ ।

गत बुधबार दिउँसो झापा लैजान गोलभेंडा लोड गरिएका २२ वटा पिकअपसँगै दर्जनौं ढुवानी तथा सवारीसाधन पाँचथरको फाल्गुनन्द-३ गुम्बाडाँडा क्षेत्रमा अलपत्र छन् । झापाबाट पाँचथर र ताप्लेजुङका लागि खाद्यान्न लिएर आउँदै गरेका ढुवानी साधन पनि राँके बजार आसपास रोकिएका छन् ।

राष्ट्रिय कृषक समूह पाँचथरका महासचिव वीरेन्द्र काफ्लेले करिब ८ लाखबराबरको टमाटर गुम्बाडाँडानजिकै अलपत्र परेपछि कृषकले डोकोमा बोकाएर झापातिर लगेका छन् । कृषक भगीरथ पुरीका अनुसार १२ वटा गाडीका टमाटर कुहिएर ५ वटा गाडीसम्म नभरिने अवस्था छ । अर्का कृषक दीपक पुरी भन्छन्, ‘बुधबार बेलुकैबाट १२ गाडी टमाटर उठाइयो, बाटो नखुल्दा बिजोग भयो ।’

कोसीको पहिरो हटाउन ३ महिना लाग्ने कोसी राजमार्गको धरान-धनकुटा खण्डमा गएको पहिरो हटाउन ३महिना लाग्ने भएको छ । यो खण्डको ५२ किलोमिटर क्षेत्रका दर्जनबढी ठाउँमा पहिरोले क्षतिग्रस्तबनाएको छ । कल्भर्टहरूसमेत क्षति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पहिरो पूरै नहटे पनि एकतर्फी यातायात सञ्चालनमाआएको छ ।

बजेट तथा मेसिन जुटाउँदा पहिरो हटाउन केही ढिलाइ भएको डिभिजन सडक कार्यालयका प्रमुख दानकुमार शाक्यले बताए । भेडेटार-धनकुटा ३५ किलोमिटर दूरीमा १ करोड ५ लाख रुपैयाँबराबरको क्षति पुगेको उनको भनाइ छ । ‘पहिरोका कारण हालसम्म सबैभन्दा बढी क्षति पुगेको छ’, उनले भने, ‘पहिरो हटाउन कम्तीमा असोजसम्म लाग्छ ।’

भत्किएको सडक मर्मत गर्न समय लाग्ने भए पनि कम्तीमा पहिरोको माटो हटाउनुपर्ने चालक मोहन पोख्रेलको भनाइ छ । बर्खा रोकिएको साता बित्न लाग्दासमेत पहिरो हटाउने काम नभएको उनले बताए । ‘पहिरो हटाउने काममा ढिलाइ हुँदा यातायात सञ्चालनमा अत्यधिक समस्या छ’, उनले भने, ‘गाडी चलाउन पनि निकै सकस छ ।’ अर्का चालक यमबहादुर राईले पनि पहिरोको माटोसडकबाट नहटाउँदा समस्या परेको जानकारी दिए ।

यही सडक भएर धरानबाट धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभाका विभिन्न स्थानमा दैनिक यातायात सञ्चालन हुने गरेका छन् । कोसी राजमार्गको धरान-धनकुटा खण्डको गर्जुवा र खराने खोलामा विगतमा सामान्य बर्खाले पनि समस्या पार्ने गरेको थियो । वर्षा सुरु हुनुअघि एस्काभेटर र आवश्यक उपकरण व्यवस्था गरेर कल्भर्ट सफा गरेकाले समस्या नदेखिएको डिभिजन प्रमुख शाक्यको भनाइ छ ।

धनकुटा र संखुवासभा जोड्ने केवाखोलासम्मका दर्जनौं स्थानमा पनि पहिरोले सडक बिगारेको छ । त्यसैले उक्त सडकमा एकतर्फी यातायात सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत हिले-लेगुवा-भोजपुर सडकमा ४ दिनसम्म यातायात अवरुद्ध भएको थियो । उता मूलघाट-त्रिवेणी सडक, तमोर करिडोर र सिधुवा-लेगुवा सडकसमेत पहिरोका कारणक्षतिग्रस्त छ । कान्तिपुर दैनिकमा समाचार छ ।