झापा । झापामा असाधारण वर्षा भएकाले झापाको मध्य भाग भएर बग्ने कन्काई तथा विरिङ नदीमा पानीको सतह निकै बढेर बाढी आइ क्षति पुर्याउने संभावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन भनिएको छ।

गत २४ घन्टामा झापामा मुसलधारे पानी परेका कारण नदीको पानी सतह बढेर खतराको संकेत पार गर्दै क्षति पुर्याउनसक्ने संभावना रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। झापाको दोमुखामा रहेको बर्षा मापन केन्द्रका अनुसार विगत २४ घन्टामा झापामा १४८.६ मिलिमिटर वर्षा भएको छ।

१४० मिलिमिटर वर्षा नाघेपछि खतराको संकेत पार गरेको मानिन्छ। जसका कारण अहिले विपद सूचना केन्द्र झापामा साइरन बजिरहेको रेडक्रस झापा शाखाका बाढी पूर्व तयारी कार्यक्रमका संयोजक हरिशरण खड्काले बताए।

खड्काले भने, ‘यो अवस्था खतराको अवस्था हो। विशेषगरि कन्काई तथा विरिङ नदीमा ठूलो बाढी आउने संभावना छ।’ सरकारले अहिले कन्काई तथा विरिङ नदी आसपास कसैलाई पनि नजान एसएमएस मार्फत सूचना जारी गरेको देशसञ्चारमा समाचार छ ।

यसैबीच, झापाको अर्जुनधारा ६ स्थित बिर्तामोड शनिश्चरे जोड्ने कालोपत्रे सडकमा वर्षापछि खाली जग्गाबाट आएको पानीले कटान गरेको छ । निरन्तरको कटानपछि पुरानो दीपज्योति स्कुल अगाडि आवतजावतमा रोक लगाइएको छ ।