मेचीनगर । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि यस रोगविरुद्घ नगरपालिकाले विभिन्न वडामा किटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ ।
नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरी ‘अल्फासाइडफर पाराफोराइड’ नामक औषधि छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसका लागि ६ जना स्प्रे मेन परिचालन गरिएको शाखा संयोजक शशीकला राईले बताइन् । केही दिनअघि नगरको १५ नम्बर वडामा कालाजारको नयाँ रोगी फेला परेका थिए ।
वैभव टी स्टेट नजिकका स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा ५ हजार रुपैयाँ छुट तथा यातायात खर्च वापत १ हजार रुपैयाँ रोगीले पाउने छन् ।
त्यसलगत्तै नयाँ रोगी खोज्दैं जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यस क्षेत्रमा पुगेको थियो । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर किटनाशक बिषादी छिटकाउ गर्ने तथा अन्य रोगीको खोजी तथा शिघ्र निदान गरी उचित उपचार चेतनामुलक स्वास्थ्य शिक्षाको प्रबन्ध मिलाइएको जनाइएको छ । नगरको ६, १५, ८ लगायतका वडामा किटनाशक विषादी छिटकाउ अभियान सञ्चालन भएको फोरमेन थामबहादुर थापाले जानकारी दिए ।