लक्ष्मी उप्रेती,
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ विनियोजित बजेट सार्वजनिक गरेको छ । उक्त बजेट नेपाल सरकारको सशर्त अनुदानका कार्यक्रमहरुलाई स्वीकृत बजेटको परिधिभित्र रहेर सञ्चालन गरिने भएको छ ।
प्रस्तावित बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडको १७ करोड ९७ लाख, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८९ लाख २३ हजार, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडको २ करोड १९ लाख ९७ हजार, मालपोत रजिष्ट्रेशनबाट ३ करोड, आन्तरिक आय (दशहत्तर वहत्तरसमेत) १० करोड ५८ लाख ४० हजार, सामाजिक सुरक्षा अनुदान ४० करोड, समपूरक अनुदान ३ करोड, विशेष अनुदान २ करोड, नेपाल सरकारबाट हस्तान्तरित कार्यक्रमको सशर्त अनुदान ३२ करोड २३ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५५ लाख सामी परियोजना सञ्चालनाक लागि अनुदान १६ लाख, जिल्ला समन्वय समिति झापाबाट क्रमागत योजनामा अनुदान २८ लाख ५० हजार तथा अघिल्लो वर्षबाट ल्याएको ४ करोड ८२ लाख ५० हजार गरी कुल १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको विनियोजित बजेट नगरपालिकाले सार्वजनिक गरेको हो ।
नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट प्रस्तुत गरेका थिए भने उपप्रमुख मीना पोखरेल उप्रेतीलेल नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । नगरपालिकाको चौथो नगरसभा २०७६ असार १० गते प्रारम्भ भएर असार २४ मा सम्पन्न भएको पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले जानकारी गराए । नगरपालिकाको पहिलो, दोस्रो, तेस्रो नगरसभाले नगरपालिकाको क्षेत्रको विकासका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम अघि बढाएको छ ।
सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । विशेषगरी वडाका आधारभुत आवश्यकताहरुलाई वडा बजेटमार्फत तथा नगरका गौरवका आयोजनाहरुलाई नगरस्तरीय बजेट मार्फत सम्बोधन गर्ने विधि अवलम्बन गरिएको नगरप्रमुख आचार्यले जानकारी गराए ।
उनका अनुसार यसवर्ष पनि वडाका कार्यक्रमहरुलाई सम्बोधन गर्ने गरी प्रतिवडा १ करोड ३० लाख रुपैयाँका दरले वडास्तरीय बजेट विनियोजन गरिएको छ । बितेका दुई अािर्थक वर्षमा नगर गौरवका महत्वपूर्ण आयोजनाहरुको डिपिआर तयार भएका र यसरी डिपिआर तयार भएका योजना कार्यक्रमलाई सञ्चालन गर्ने गरी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तावित गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रस्तुत वजेटमा आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न नौ वटा शीर्षकमा अनुमान व्यय हुने बताइएको छ । नगरपालिकाले सो वर्ष नगरस्तरीय कुल पुँजीगततर्फ २७ करोड ९९ लाख ६० हजार, वडा योजना तथा कार्यक्रममा १९ करोड ५० लाख, हस्तान्तरित कार्यक्रम सशर्त ३२ करोड २३ लाख आप्रवासन कार्यक्रम १६ लाख, साधारण खर्च १७ करोड ६७ लाख ५० हजार, सामाजिक सुरक्षा भत्तालगायत ४० करोड २ लाख ५० हजार, मेसिनरी १५ लाख, फर्निचर १५ लाख, समपूरक र विशेष अनुदानको कार्यक्रम डिपिआर भएका योजनाहरुमा १ अर्ब ४२ करोड ८८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।

विषयगत शीर्षकमा नगरस्तरीय २३ करोड ८७ लाख ६० हजार तथा वडास्तरीय १९ करोड ५० लाख गरी कूल ४३ करोड ३७ लाख ६० हजार रुपैयाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०७६/०७७ को पुँजीगततर्फको विषयगत शीर्षकको आधारमा हेर्दा नगरपािलकाले सबैभन्दा बढी पूर्वाधार विकासमा २३ करोड १९ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसका लागि नगरस्तरीय १० करोड ८५ लाख ५० हजार तथा वडास्तरीय १२ करोड ३४ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको हो । सामाजिक विकासमा दुवैतर्फ गरी ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ छुट्टयाइएको छ । नगरस्तरीय ३ करोड १४ लाख ३८ हजार तथा वडास्तरीय ३ करोड २८ लाख ५ हजार वजेट विनियाजन भएको छ ।
यसैगरी, स्रोत परिचालन आर्थिक विकासतर्फ नगरस्तरीय २ करोड ७० लाख ३५ हजार र वडास्तरीय ५ लाख ३० हजार गरी कुल २ करोड ७५ लाख ६५ हजार, सिँचाइमा नगरस्तरीय १५ लाख तथा वडास्तरीय १ करोड १२ लाख ५ हजार गरी कुल १ करोड २७ लाख ५ हजार रकम विनियोजन गरिएको नगरप्रमुख आचार्यले बताउनुभयो । नगरपालिकाले यो वर्ष विद्युतका लागि नगर र वडास्तरीय गरी कुल १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये नगरस्तरीय ३० लाख तथा वडास्तरीय ७२ लाख रहेको छ ।
कृषि तथा पशुपालनतर्फ नगरस्तरीय ७८ लाख तथा वडास्तरीय ३० लाख ५० हजार गरी कुल १ करोड ८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । वन, वातावरण तथा विपद्मा १ करोड ९९ लाख ३७ हजार रकम विनियोजन भएको छ । त्यसमा नगरस्तरीय १ करोड ७० लाख ३७ हजार तथा वडास्तरीय २९ लाख रुपैयाँ विनियोजन भएको पत्रकार सम्मेलनमा बताइयो ।
सार्वजनिक सेवा, क्षमता विकासतर्फ नगर र वडास्तरीय गरी कुल २ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरस्तरीय १ करोड ९१ लाख तथा वडास्तरीय ४० लाख रुपैयाँ रहेको छ । शिक्षातर्फ नगरस्तरीय १ करोड ३८ लाख तथा वडास्तरीय ७३ लाख ७५ हजार गरी कुल २ करोड ११ लाख ७५ हजार, स्वास्थ्यमा नगरस्तरीय २० लाख तथा वडास्तरीय १७ लाख ३० हजार गरी कुल ३७ लाख ३०, खानेपानीमा नगरस्तरीय ७५ लाख तथा वडास्तरीय ८ लाख गरी कुल ८३ लाख रुपैयाँ विनियोजन भएको छ ।
नगरका समग्र नगरबासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहनालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सवल नगर बनाउन तथा ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्वन गरिएको छ ।
उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सुशासन, बाल तथा लैङ्गिकमैत्री एवम् सामाजिक समावेशिता, वातावरण तथा पर्यावरणमैत्री, पर्यटनमैत्री एवम् गरिबी निवारणलाई प्रमुख आधार बनाइएको छ । स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्वन्धि नीतिलाई यस नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ ।
मेचीनगरमा कुनै विषयमा कसैले विद्यावारिधी गरे त्यस्ता शोधकर्तालाई प्रतिव्यक्ति १ लाख रुपैयाँ प्रदान गरिने, मेचीनगरका सामुदायिक विद्यालयमा कषा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई जेहेन्दार र विपन्नताका आधारमा २० प्रतिशत तथा सामुदायिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई १० प्रतितश विद्यार्थी संख्यााको आधारमा छात्रावृत्ति उपलब्ध गराइने नीति रहेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।