ताप्लेजुङ । दुई सातायता भइरहेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । यातायातका साधनको गन्तव्य दूरी छोटिएको छ । सदरमुकाम फुङलिङबाट मैवाखोला गाउँपालिकाको केन्द्र साँघु जोड्ने सडक पूरै अवरुद्ध छ ।
दोभान बजारदेखि साँघुसम्मको यातायात ठप्प भएको ट्याक्सी काउन्टर इञ्चार्ज प्रेम लंवाले बताए । मिक्वाखोला गाउँपालिकाको सडक पनि आधामात्रै सञ्चालनमा छ । सदरमुकामबाट लिवाङसम्म सञ्चालन हुँदै आएको यातायात अहिले खोक्लिङको थापा गाउँसम्म मात्रै पुग्न थालेको लंवाले बताए ।
मेरिङदेन गाउँपालिकाको लिङतेप जाने सडक पनि अवरुद्ध भएको छ । अहिले दिङला चारआलि सम्ममात्रै यातायातका साधन जाने गरेका छन । कतै माथिबाट ढिस्को भत्किएर त कतै पहिरोले सडक नै भत्काएपछि यातायातको दूरी छोटिएको लंवाले बताए । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा यातायात सञ्चालन गर्दै आएको ग्रामीण काउन्टर इञ्चार्ज टिकेन्द नेपालीका अनुसार फक्ताङलुङ गाउँपालिकाको तापेथोकसम्म पुग्ने सडक पनि अवरुद्ध भएको छ ।
मध्य पहाडी लोकमार्गको तापेथोक छिरुवा छेउमा सडक भत्किएकाले अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ । ‘यो सडक गाउँपालिकाले बनाउन मिल्दैन, उत्तर दक्षिण लोकमार्गले बनाउनु पर्छ’, गाउँपालिका अध्यक्ष सरोज एभेङले भने, ‘पानी पर्न छोडेपछि उहाँहरूसँग समन्वय गर्छौं ।’ अहिले थिवासम्म मात्रै यातायात जाने गरेको छ । त्यो पनि ठूलो वर्षा नभएको मौका छोपेर लैजानुपर्ने चालकहरू बताउँछन् ।
पूर्वको सिरिजंघा गाउँपालिकाको सिंकैचासम्म चल्ने यातायात फुङलिङ नगरपालिका ११ फावाखोलासम्म मात्रै पुग्न थालेको छ । फावाखोलाको सिम्बूसम्म मात्रै पुग्ने गरेको नेपालीले बताए । सिरिजंघाको केन्द्र तापेथोक जाने यातायातका साधन सिनामको डाँडाँगाउँ सम्ममात्रै पुग्छन् ।
डाँडाँगाउ छेउको पहिरो झरिरहने र सडक पुर्दा यातायात अवरुद्ध भइरहने गरेको छ । आठराइ त्रिवेणी गाउँपालिकाको हाङपाङ र सिदिङवा गाउँपालिकाको साब्लाखुमा भने यातायात सञ्चालनमा रहेका छन् । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बु जोड्ने सडक पनि एक व्यक्तिले आफ्नो लगानीमा खुलाएका छन् ।
स्थानीय दिपेश मेन्याङवोले १० घण्टा मेसिन लगाएर सडक खुलाएको बताए । अहिले हरेकजसो गाउँपालिकामा आफैंसँग मेसिन भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको बताएका छन् । अधिक चल्ने सदरमुकाम वहानन्दे दोभान सडक पनि यातायात चल्नै कठिन भएको दोभानका व्यवसायी टंक खतिवडा बताउँछन् ।
‘मोटरसाइकल त चल्नै छोडेको छ मौसम राम्रो हुँदा ट्याक्सी लगायतका चारपाङग्रे सवारी अलिअलि चल्छन्’, खतिवडाले भने ।