झापा । झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो ।

अघिल्लो आवकोे तुलनामा २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३६२ ले कमी भएको छ । विगत दुई आवको तुलना गर्दा झापामा नागरिकता र राहदानी लिनेहरु घटेका छन् । आव २०७५/७६ मा १५ हजार २८८ जनाले र २०७४/७५ मा १६ हजार ५४९ जनाले नागरिकता लिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

यो सङ्ख्या अघिल्लो आवको भन्दा एक हजार २६१ ले कमी हो । आव २०७५/७६ मा १२ हजार ८३२ जनाले र २०७४/७५ मा १३ हजार ७६ जनाले राहदानी लिएका छन् । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २४४ ले कमी हो ।

प्लस टू पास गरेर बाहिर अध्ययनका लागि जाने विद्यार्थी र वैदेशिक रोजगारमा जाने युवायुवतीका कारण राहदानी लिने बढेको सहायक पोखरेलले बताउनुभयो ।