इलाम । इलाम अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । यो अस्पताललाई पाँच वर्षअघि ५० शैय्यामा विस्तार गरिएको थियो । तर, दरन्बन्दीअनुसार विशेषज्ञ चिकित्सक छैनन् । रेफर सेन्टर मात्र बनेको अस्पतालमा आउने विरामीहरुको भनाइ छ ।

इलाम नगरपालिका ४ बरबोटेका किशोर अधिकारी बुबाको उपचारको लागि अस्पतालमा ३ दिन बसे तर कुनै रोग नै पत्तो लागेन उनी भन्छन्, ‘यहाँ त कुनै रोग पत्तालागउनको लागि डाक्टर नै छैन बुवालाई ३ दिन राखेर विराटनगर लगेर उपचार गरेर ल्याए ।’

इलामबाटै प्रतिनिधित्व गरेका झलनाथ खनाल प्रधानमन्त्री, सुवास नेम्बाङ दुवै संविधानसभाका अध्यक्ष भए । कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले पनि इलामबाटै प्रतिनिधित्व गरे। गृहजिल्लावासी भने सामान्य उपचारका लागि पनि झापाका महँगा निजी अस्पताल वा भारतका अस्पतालसम्म जानुपर्ने बाध्यता छ । इलाम अस्पतालको अवस्थाले इलामे जनताकै उपहास गरिरहेको स्थानीयहरु बताउँछन् । ठूला नेताहरूको गृहजिल्लामा अस्पतालको दुरावस्थाले इलामेलाई नै लज्जित बनाएको छ।

इलाम अस्पतालमा अहिले पनि १० जना विशेषज्ञसहितको १६ जना डाक्टरको दरबन्दी रहेकोमा ५ जाना एमडी डाक्टर मात्र भएको र काम गर्न असहज भएको अस्पताल व्यवस्थापक क्षितिज खतिवडा बताउँछन् ।

विशेषज्ञ नभएका कारण सम्बन्धित उपकरण पनि आउन नसकेको र भौतिक पूर्वाधार पर्याप्त रहे पनि डाक्टरहरुलाई आभाषको अभाव र विशेषज्ञ चिकित्सक अभाव रहेको उनको भनाइ छ । अस्पतालमा दैनिक स्वास्थ्य परीक्षण र उपचारका लागि २ सय जना आउने गरेका छन् ।