झापा । सतासीधाम जेसीजले जेसीज सप्ताह अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम गर्ने जनाएको छ । पूर्वको धार्मिक तथा पर्यटकीय सताक्षीधामस्थित हरिवेद विद्यालयका छात्रलाई आज शैक्षिक सामग्री वितरण गर्दे कार्यक्रमको उद्घाटन गरिएको हो ।

विद्यालयका २१ जना वटुकलाई सेतोपाटी, कालोपाटी, कपी, बल पेन, मार्कर पेन वितरण गरेर १८ गतेसम्म सञ्चालन हुने जेसीज सप्ताहको औपचारिक उद्घाटन गरिएको कार्यक्रम संयोजक निरोज दुलालले बताए । उनका अनुसार १६ गते दूधेमा रक्तदान कार्यक्रम, १८ गते सतासीधाम जेसीजको कभर्ड हलमा व्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम हुने छ ।

सताक्षीधाममा आयोजित कार्यक्रम गोलोक गोवद्र्धन गौशालाका पिठाधीश आचार्य नन्दकिशोर भारद्वाजको प्रमुख आतिथ्यमा भएको थियो । सतासीधाम जेसीज वर्ष २०१९ का अध्यक्ष दिनेश बाह्रकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खरेललगायतले जेसीज सप्ताह कार्यक्रमको सफलताको कामना गरेका थिए ।

जेसीजका महासचिव कुवार साँवाको सञ्चालनमा भएको कार्यक्रमको स्वागत र कार्यक्रमको औचित्यमाथि कार्यकारी उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक निरोज दुलालले प्रकाश पारेका थिए भने आस्था वाचन निर्मला प्रधानले गरेकी थिइन् ।