आनन्द गौतम,
ताप्लेजुङ । सरकारले पाथीभरा मन्दिरको क्षेत्र विस्तार गरेको छ । कञ्चनजंघा संरक्षण क्षेत्रको ३ किमि भूभागलाई पनि पाथीभरा क्षेत्रमा गाभेको छ । संरक्षण क्षेत्रले भने यसको विरोध गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिको गठन आदेश ०५१ लाई पहिलोपटक संशोधन गरी क्षेत्र विस्तार गरिएको हो । गत चैत १८ को राजपत्रमा प्रकाशित भएको क्षेत्र निर्धारणका विषय यहाँका अगुवाले ढिला थाहा पाएका हुन् ।
पूर्वमा सिरिजंघा गाउँपालिका-३ को हर्कटे डाँडालाई भित्र पारी फुङलिङ नगरपालिका-११ फावाखोलाको सम्पूर्ण क्षेत्र, पश्चिममा फक्ताङलुङ गाउँपालिका-३ को लिंखिम र ४ को तापेथोकको पाथीभरा मन्दिरबाट ३ किमि क्षेत्रभित्रका सबै भूभागलाई पाथीभरा क्षेत्र भनिएको छ । तर, फक्ताङलुङ गाउँपालिकाको वडा ४ भने पहिलेको तापेथोक गाविस नभई इखावु गाविस हो । यो वडा पाथीभरा मन्दिरमा जोडिँदैन भने तमोर नदीदेखि पारिपट्टि छ ।
उत्तरमा फक्ताङलुङ-४ र सिरिजंघा-३ र ६ को सीमाभित्रको सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ-१० को फुरुम्बु गाडीडाँडा, वडा ९ को देउराली, वडा ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक-३ को दुधिले पश्चिम फुङलिङको सिमानाको क्षेत्रलाई पाथीभराको क्षेत्र निर्धारण गरिएको छ ।
यसअघि कञ्चनजंघा संरक्षण क्षेत्र घोषणा गर्दा पाथीभरा मन्दिरलाई भित्र पारेर सीमा निर्धारण गरिएको थियो । पाथीभराको भेटीपाती व्यवस्थापनको विषयमा छलफल हुँदा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले मन्दिर कञ्चनजंघा क्षेत्रमा पर्ने जनाएको थियो । व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बो नमिल्दो क्षेत्र निर्धारणले जिम्मेवारी निर्वाहमा समस्या उत्पन्न गराएको बताउँछन् ।
‘मैले वन मन्त्रालयका सचिवसँग पनि संरक्षण क्षेत्रको सीमा कसरी घट्यो र आफूहरूलाई किन जानकारी गराइएन भनेर सोधें’, उनले भने, ‘उहाँले मन्त्रालयसँग परामर्श नभएकाले मलाई पनि जानकारी भएन तर यस्तो नहुनुपर्ने भन्नुभयो ।’ कानुन पछिल्लो मान्य हुने र राजपत्रमा समेत प्रकाशित भएकाले संरक्षण क्षेत्र अहिले तापेथोकमा काम गर्ने कि नगर्ने अन्योलमा छ । तर पाथीभरा मन्दिर रहेको क्षेत्र फक्ताङलुङ गाउँपालिका–५ मा पर्ने भएकाले यो मान्य हुने कि नहुने भन्ने पनि प्रश्न उठेको छ ।
संस्कृति मन्त्रालयले परामर्श मागेको भए पनि क्षेत्र विस्तार आफूहरूका लागि मान्य नभएको कारणसहितको जवाफ पठाएको कञ्चनजंघा संरक्षण क्षेत्रका योजना अधिकृत योगेश ढकाल बताउँछन् । ‘तपाईंहरूको क्षेत्र घट्यो भनेर पनि अहिलेसम्म मन्त्रालयबाट जानकारी आएको छैन’, उनले भने ।
भेटी अब समितिमा
प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी पाथीभरा क्षेत्र विकास समितिले संकलन गरी व्यवस्थापन गर्ने भएको छ । २०७५ चैत १८ गते नेपाल राजपत्रमा प्रकाशित पाथीभरा क्षेत्र विकास समिति गठन आदेश पहिलो संशोधनले भेटी प्रयोगको अधिकार समितिलाई दिएको थियो ।
मुल आदेशको दफा ४ मा संशोधन गरी खण्ड ‘ड’ थपेर ‘पाथीभरा देवी मन्दिरमा चढाइएको भेटी, चन्दामध्ये नगदको हकमा बैंकमा खाताखोली जम्मा गर्ने र अन्य जिन्सी तथा उपहारको हकमा सो को विवरण राख्ने तथा भेटीलाई पारदर्शी रूपमा परिचालन वा व्यवस्थापन गर्ने गराउने,’ उल्लेख छ ।
यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गरिएको निर्णय हो । यो समितिमा नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष, ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय संसद, जिल्ला समन्वय समिति संयोजक, फुङलिङ नगरपालिका प्रमुख, पाथीभरा याङवरक, सिरिजंघा र फक्ताङलुङ गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, मालपोत, डिभिजन वन र संस्कृति मन्त्रालयले तोकेको व्यक्ति सदस्य हुने प्रावधान छ ।
समाजसेवी, बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरूमध्ये सरकारले मनोनयन गरेका ५ जना सदस्य र मन्त्रालयले तोकेको कार्यकारी निर्देशक सदस्यसचिव हुने प्रावधान छ । पाथीभराको भेटी अहिले समन्वय समिति प्रमुख घनेन्द्र मादेन संयोजकत्वको टोलीले संकलन गर्दै आएको छ ।
पाथीभरा भेटीपाती संकलन तथा व्यवस्थापन समितिको नाममा संकलन गरिएको हो । तर, यो प्रशासन लगायतका कुनै पनि ठाउँमा दर्ता छैन । पाथीभरा क्षेत्र विकास समितिले भने आफ्नो उपसमिति भएको बताउने गरेको छ ।
मन्त्रालयले सजन पौडेललाई अध्यक्ष चयन गरेपछि उनले सरकारी निकायले भेटी संकलन गर्न पाउनुपर्ने आवाज उठाएका थिए । भेटी संकलन र व्यवस्थापनका विषयमा विवाद बढेपछि प्रशासन समेतको सक्रियतामा जिसस प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको हो ।
यसको वैद्यताका विषयमा समेत प्रश्न उठिरहेका बेला सरकारले कानुनमै क्षेत्र विकास समितिलाई अधिकार दिएको हो ।अब आफूहरूले अधिकारको प्रयोग गर्ने सदस्य राजेन्द्रश्रेष्ठ बताउँछन् । अहिले कर्मचारी र माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका प्रहरीद्वारा संकलित भेटीको रकम जिल्ला समन्वय समितिको भवनमा राखेर गणना गरिन्छ । मन्दिरमा बस्ने, सरसफाइ गर्ने, तीर्थयात्रीको उपचार गर्ने स्वास्थ्यकर्मी लगायतले यसैबाट तलब खाँदै आएका छन् ।
पाथीभरामा वार्षिक १ करोडसम्म भेटी संकलन हुँदै आएको छ । यहाँ संकलित भेटीबाट बाटो बनाउने, रेलिङ लगाउने, मन्दिर परिसर बिस्तार तथा व्यवस्थापन गर्नेजस्ता काम हुँदै आएको कान्तिपुर दैनिकमा समाचार छ ।