दमक । झापाको पुरानो व्यावसायिक केन्द्र गौरीगञ्जमा दुई स्थानमा बसपार्कका लागि जग्गा छ। तर, अझै पनि सवारीसाधनहरु भने सडक किनारामा पार्किङ गर्दै आइएको छ। वडा नम्बर ३ मा अस्थायी बसपार्क बनाएर ‘बस स्टेण्ड’को रुपमा भने उपयोग थालिएको छ। तर यहाँ बसपार्कका लागि चाहिने पूर्वाधारहरु भने निर्माण हुन सकेका छैनन्।
वडा नम्बर ६ मा दुई दशकअघिदेखि नै बसपार्कका लागि जग्गा व्यवस्थापन गरिको हो। यस्तै वडा नम्बर ३ गौरीगञ्जमा पनि बसपार्कका लागि जग्गा छ। तर, कतै पनि बसपार्क निर्माण भएको छैन। बसपार्कका लागि छुट्याइएको जग्गाको संरक्षण चुनौतीपूर्ण बनेको छ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ वडा नम्बर ६ मा करिब १७ कट्ठा जग्गा बसपार्कका लागि रहेको बताउँछन्। ‘यो जग्गा अहिलेको होइन, म बिगतमा जनप्रतिनिधि रहँदा नै हामीले जोगाएर राखेको हो’, उनले भने, ‘बेला बेलामा जमिन सम्याउने, पुर्ने लगायतका काममा केही खर्च पनि भएको छ। तर सबै संरचना बनाउन भने सकिएको छैन।’
यस्तै वडा नम्बर ३ मा रहेको बसपार्कको जमिन भने अतिक्रमणमा परेको भन्दै उअध्यक्ष श्रेष्ठले त्यसको क्रमिक रुपमा उपयोग र व्यवस्थापन गरिने बताए। वडा नम्बर ३ मा ८ वर्षअघि बसपार्क निर्माणको प्रकृया पनि थालिएको थियो। तर त्यसले गति लिन सकेन। जसका कारण अझै पनि व्यवस्थित बसपार्क नहुँदा सवारी साधनहरु सडकमा नै पार्किङ गर्ने गरिएका छन्।
अतिक्रमणको चपेटा
वडा नम्बर ३ मा मुख्यचोक नजिकै ८ कट्ठा १० धुर जग्गामा बसपार्क निर्माण आठ वर्षअघि नै सुरु गरिए पनि पूरा हुन सकेको छैन। अहिले बसपार्क निर्माणस्थल अतिक्रमणमा परिरहेको छ।
स्थानीयका केही घर टहराहरु रहेका छन्। त्यसलाई हटाउने प्रकृया सुरु गरिएको वडाध्यक्ष मखना महतोले बताए। अतिक्रमित क्षेत्र खाली नगराई निर्माण प्रकृया थाल्न व्यवहारिक नहुने भएकाले पहिले जग्गा खाली गराउने त्यसपछि निर्माण कार्य थालिने उनको भनाइ छ।
यस वर्ष गौरीगञ्ज बजार व्यवस्थापनका लागि भनेर ३० लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष महतोले जनाकारी दिए। उक्त रकम बजार व्यवस्थापन, साना पूर्वाधार निर्माण लगायतका कार्यमा खर्चिने योजना छ। अतिक्रमण भएको जग्गा खाली गराएपछि गौरीगञ्जमा व्यवस्थित बसपार्क निर्माणले गति लिने उनले आश्वासन दिए।
बसपार्क नहुँदा पैदलयात्रीका साथै सवारीका साधनहरु गुड्ने सडकमा नै बस, ट्रक, अटो रिक्सा, सिटिसफारी र मारुती भ्यानलगायतका सवारीसाधनहरु जथाभावी पार्किङ गर्दा आवतजावतमा समस्या हुनुका साथै फोहोरमैला समेत बढेको स्थानीय व्यापारीहरु बताउँछन्।
गाउँपालिकाको चासो
जग्गा भएर पनि वर्षौंदेखि बसपार्क निर्माण हुन नसकेको प्रति गाउँपालिकाले चासो देखाएको छ। गाउँपालिका अध्यक्ष श्रेष्ठले चासो देखाएको मात्र नभई प्राथमिकता समेत राखेको बताउँछन्।
यस वर्ष वडा नम्बर ६ मा रहेको बसपार्कको जमिन व्यवस्थापन तथा केही साना पूर्वाधारका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ। ‘विकास सबै क्षेत्रमा गर्नु छ, बजेट पर्याप्त छैन तर केही काम थालौं भनेर यो वर्ष ३० लाख रुपैयाँ छुट्याएका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘यसले केही हदसम्म भए पनि काम हुने विश्वास दिलाउँछु।’
गाउँपालिकाको आफ्नै बजेटले ठूलो बसपार्क बनाउन सम्भव नभएकाले माथिल्लो प्रदेश, संघीय सरकार तथा अन्य निकायसँग पनि यसबारे छलफल भइरहेको उनले बताए। हुलाकी राजमार्गसँग जोडिएका नयाँ सहर बनाउने सूचीमा समेत रहेको गौरीगञ्जमा सो आयोजना मार्फत् विभिन्न काम भइरहेका छन्। तर, ठूलो बसपार्ककका लागि कम्तीमा तीन बिघा जग्गा चाहिने र त्यसपछि मात्र आयोजनामार्फत् रकम खर्च हुने भएकाले तत्काल सो परिमाणम जग्गा व्यवस्थान नहुने भएपछि गाउँपालिकाले आफैँ सानो आकारको बसपार्क बनाउने प्रकृया अघि बढाएको हो।
अहिले दुवैतर्फ जमिन रहेका ठाउँ गौरीगञ्जको मुख्य बजार क्षेत्र रहेको र बजार क्षेत्रमा ठूलो बसपार्क बनाउँदा प्रदूषण, कोलाहल बढ्ने र शहरीकरण झनै अस्तव्यस्त हुने भएकाले दीर्घकलीन रुपमा बसपार्कका लागि अन्यत्रै जग्गा खोजी गरिने श्रेष्ठले बताए।