अर्जुनधारा । श्रावणी पर्वको अन्तिम सोमबार पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा हजारौं भक्तजनहरुले जलार्पण गरेका छन् । धामका कार्यालय सचिव विष्णु भट्टराईका अनुसार जिल्लाभित्र र बाहिरबाट आएका हजारौंको संख्यामा उपस्थित भक्तजनहरुले बिहान ३ः३० बजेदेखि धाममा रहेको शिवको मन्दिरमा जलार्पण गरेका हुन् ।

त्यसैगरी धामअन्तर्गत रहेको गुरुकुलका पूर्व विद्यार्थी एवम् पण्डित कुवेर सुवेदीले पर्वको औचित्यबारे जानकारी गराएका थिए । जलार्पणमा सहभागी भएका भक्तजनहरुलाई लक्षित गरी सांग्रिला विकास बैंक शनिश्चरे शाखाले निःशुल्क टीका, चुरा र मेहन्दी लगाउने तथा चिसो पानी वितरण गरेको बैंकका शाखा प्रबन्धक सञ्जिप बरालले बताए ।

धाम समितिका अनुसार अञ्जली हस्पिटलले निःशुल्क शिविर सञ्चालन गरेको कार्यक्रममा जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा र ट्राफिक प्रहरीले यातायात वयवस्थापन गरेका थिए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी शनिश्चरे उपशाखा, स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अन्तर्गत राष्ट्रिय सेवा दलका विद्यार्थी, एम्स एकाडेमीका युवा रेडक्रस सर्कल, हामी ३८ से, अर्जुनधारा फुटबल क्लब, नेपाल स्काउटलगायत दर्जनभन्दा बढी संस्थाले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
तस्वीर : अमित खम्बू