बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले बितेको आर्थिक वर्ष २०७५/०७६ मा गरेको व्यवसायहरुमध्ये बैंकिङ व्यवसायतर्पm सञ्चालन मुनाफा २२ करोड २५ लाख पुगेको छ । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा ३१ प्रतिशतले बृद्घि भएको हो । सोमबार संस्थाले बिर्तामोडमा पत्रकार भेटघाटको कार्यक्रम गरी सो जानकारी गराएको हो । यो वर्षको अन्त्यसम्म एनएमसीका सदस्य ९० हजार पुग्ने लक्ष्य राखिएको छ भने कूल कारोबारको अंक १० अर्ब ३२ करोड पुग्ने अनुमान गरिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७५/०७६ को कारोबारको यथार्थ अवस्था र २०७६/०७७ लागि प्रस्ताव गरिएका कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । एनएमसीको बैंकिङ व्यवसायबाट भएको सञ्चालन मुनाफामा अरु व्यवसायमा भएको घाटाको समायोजनपछि गएको आर्थिक वर्षमा एनएमसीले २१ करोड ८३ लाख सञ्चालन नाफा गरेको छ भने यो चालु वर्षमा ३१ करोड७६ लाख सञ्चालन नाफा गर्ने लक्ष्य लिएको छ ।

एनएमसी डेरी उद्योगको सञ्चालन घाटा १४ लाखमा झरेको र यो अघिल्लो वर्षको ८० लाखको घाटा रकमभन्दा धेरै कम भएको पत्रकार भेटघाट कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख छ । चालु आर्थिक वर्ष २०७६/०७७ मा डेरी उद्योगले सबै सञ्चालन खर्च धानेर नाफामा जाने लक्ष्य लिएको र गएको वर्षबाट मात्र सुरु गरेको एनएमसी नमुना कृषि परियोजनामा काम सुरु भएको विज्ञप्तीमा उल्ल्ेख छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यक्रमको सभापतित्व गदैं प्रस्तुत गरेको प्रतिवेदनमा यो परियोजनाबाट अभैm केही वर्ष लगातार घाटा हुने, त्यसैगरी गतवर्षको वैशाखबाट सुरु भएको एनएमसी को-अप सप अर्थात् सहकारी पसलबाट पनि नाफाको अपेक्षा तुरुन्तै गर्न नसकिने उल्लेख छ ।

बैंकिङ व्यवसायबाहेक अरु व्यवसायमा सञ्चालन नाफा तत्काल नभए पनि ती व्यवसायले सदस्यको आवश्यकता पूरा गर्न सघाउ पु¥याउने गरी काम भइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिए । भविष्यमा ती व्यवसायबाट समेत संस्थाले आर्थिक लाभ प्राप्त गर्न सक्ने विश्वास संस्थाको छ । बैंकिङ व्यवसायलाई अभैm प्रतिस्पर्धी बनाउन र सदस्यको सुझाव एवम् मागलाई ध्यानमा राखेर संस्थाले यही भदौ महिनाबाट कर्जाको ब्याजदर १ प्रतिशतसम्म घटाएको छ । यो घटेको दर विगतमा लगानी भएको कर्जामा समेत लागू हुने कार्यक्रममा जानकारी गराइयो ।

एनएमसी डेरी उद्योगले बजारको बढ्दो मागलाई धान्न नसकेको र कच्चा दुधको अभाव भएको अवस्था भए पनि चालु आर्थिक वर्षको साउन महिनामा ३ लाख ४० हजार ९६२ लिटर दूध संकलन भएको छ । गत आर्थिक वर्षको साउन महिनाभन्दा चालु आर्थिक वर्षको साउन महिनामा २० हजार ९६७ लिटर बढी दूध संकलन भएको । बिक्री समेत ९ लाखले बृद्धि भएको छ ।

गतवर्ष संकलन भएको दूध बजारमा पूर्ण खपत नभएका कारण अन्य डेरी उद्योगहरुलाई १७ लाख ६६ हजार रुपैयाँको कच्चा दूध बिक्री गर्नुपरेको अवस्था थियो । तर, यो वर्षको साउन महिनामा बजारको माग त्यो भन्दा निक्कै भएकाले बढी दूध संकलन भए पनि धान्न नसकिएको अध्यक्ष उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा छ ।

उनका अनुसार यो देशैभरिको समस्या हो । अझ नेपालीले मनाउने मुख्य चाडपर्वहरु आगामी दिनमा लगातार पर्ने भएकाले यो समस्या झन् बढ्ने अवस्था रहेको छ । सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्ने गरी पाउडर दूध आयातमा प्रतिबन्ध लगाएको छ । त्यसैले अभैm २÷४ महिना दूधको अभाव बजारमा देखिने बताइएको छ । किसानले दूधको उत्पादन बढाएर फाइदा लिने अनुकूल वातावरण बनेको उनले दाबी गरे । किसानले दूधको भाउ बढाउन माग गरे पनि सरकारले बढाएको छैन ।

तर, एनएमसीले भदौ १ गतेबाट लागू हुनेगरी किसानबाट खरिद गरिने ४ फ्याट र ८ एसएनएफको दुधमा प्रतिलिटर २ रुपैयाँ हुनेगरी मुल्य बृद्धि गरेको छ भने बिक्री मूल्यमा कुनै परिवर्तन नगरिएको जानकारी दिइयो । यो व्यवस्थाबाट उद्योगलाई मासिकरुपमा ८ लाख जतिको व्ययभार थपिने भए पनि उपभोक्ता र दूध उत्पादक किसान दुवै पक्षको हितलाई ध्यानमा राखिएको छ । यसअघि पनि अन्य कुनै डेरी उद्योगले दिने मूल्यभन्दा एनएमसी डेरीले किसानलाई दिने मूल्य बढी रहेको समेत स्मरण गराए ।

एनएमसी नमुना कृषि परियोजनामा यसै वर्ष नमुना गाई फार्मको सञ्चालन गरिने गरी धमाधम काम भइरहेको छ । विभिन्न विषयमा २ सयभन्दा बढी किसान सदस्यलाई प्रयोगात्मक तालिम दिएर कृषि व्यवसायमा लाग्न आत्मविश्वास बढाउने कार्य गरिनेछ । यसै वर्ष सम्पन्न गर्ने गरी यसै परियोजनामा व्यावसायिक तालिम हलको निर्माण गर्ने लक्ष्य राखिएको छ ।

व्यावसायिकरुपमा माछापालन, तरकारी खेती, फलपूmलका बिरुवाको नर्सरी, घाँस खेती, एनएमसी वनवाटिका लगायतका कार्य यसै वर्ष प्रारम्भ गरिने उल्लेख छ । हाल परियोजनाभित्र बाटो निर्माणको काम धमाधम भइरहेको समेत पत्रकार भेटघाटमा बताइयो ।

एनएमसी कोअप–सप (सहकारी पसल)लाई आगामी ५ वर्षभित्र ५० स्थानमा पु¥याउने लक्ष्यअनुरुप यसै वर्ष न्यूनतम ५ र बढीमा १० स्थानसम्म विस्तार गर्ने गरी तयारी भइरहेको, एनएमसी सामाजिक अभियान : सदस्यहरुलाई असल संस्कार र समृद्धिको अभियानमा सहभागी बनाउन ‘सामाजिक योगदानमा मेरो एक रुपियाँ’, विद्यालयस्तरमा ‘स्टुडेन्ट सेभिङ क्लब’, युवा सरोकार समिति, वित्तीय साक्षरता अभियान, सरसफाइ अभियान, सदस्य शिक्षा अभियान, महिला सशक्तिकरण अभियान, युवा सरोकार कार्यव्रmम, सदस्य परिवारमा परेको जन्मदेखि मृत्युसम्मका कार्यव्रmममा सहभागिता र सहयोग, सदस्य राहत कार्यव्रmम, ज्येष्ठ नागरिक सम्मान र सहयोग लगायतका कार्यव्रmम अभैm प्रभावकारी रुपमा सञ्चालन हुने बताइएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले स्वागत गरेका थिए । पत्रकारको जिज्ञशामा संस्थाका अन्य पदाधिकारीले समेत जवाफ दिएका थिए ।