फिदिम । पाँचथरमा बिभिन्न चार ओटा जलविद्युत् आयोजनाको उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । चार आयोजनाबाट उत्पादन भएको ४८ दशमलब दुई मेगावाट बिजुली मुलुकको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो हेंवा, तल्लो हेंवा, इवाखोला र खोरङ्गाखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । तल्लो हेंवाखोलबाट उत्पादित २२ दशमलब दुई मेगावाट बिजुली यही साउन महिनादेखि राष्ट्रिय प्रशारण लाईनमा जोडिएको प्रोजेक्ट मेनेजर गणेश सुब्बाले जानकारी दिए । इवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित १० मेगावाट बिजुली पनि हालै मत्र राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

माथिल्लो हेंवाबाट उत्पादित १५ मेगावाट बिजुली २०७३ सालदेखि नै प्रशारण लाईनमा जोडिएको थियो । २०६५ सालमा निर्माण सम्पन्न भएको खोरङ्गाखोला जलविद्युत् आयोजनाबाट एक मेगावाट बिजुली उत्पादन भईहरहेको छ । पाँचथरमा उत्पादित सबै बिजुली काबेली करिडोरको १३२ केभीए विद्युत् प्रशारण लाईनमा जडान गरिएको छ ।

‘दुई ओटा जलबिद्युत आयोजनाको बिजुली हालै मात्र राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो’, काबेली करिडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विबेदीले भने, ‘पाँचथरमा उत्पादित सबै बिजुली १३२ केभीए विद्युत् प्रशारण लाईनमा जोगिएको हो ।’ साउन महिनामा मात्रै पाँचथरबाट ३२ दशमल २ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । तल्लो हेंवाबाट उत्पादित २२ दशमलव दुई र इवाखोलबाट उत्पादिन १० मेगावाट बिजुली हालै मात्र राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो ।

हेंवा खोलामा निर्माण गरिएको माथिल्लो हेंवा (हेंवा ए) दुई अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न गरिएको हो । यो आयोजना निर्माणका लागि स्थानीयको तीन करोड, आयोजना निर्माणमा कर्यरत कर्मचारीहरुको दुई करोड र बाँकी रकम सानिमा बैंकको नेतृत्वमा अन्य ११ ओटा बैंकहरुले लगानी गरेका हुने ।

हालै मात्र बिद्युत् उत्पादन सुरु गरेको तल्लो हेंवा (हेंवा बी) चार अर्ब ३० करोडको लागतमा सम्पन्न भएको हो । ‘निर्धारित समयमा काम सम्पन्न नहुँदा निर्माण लागत बढेको हो’, आयोजना प्रमुख सुब्बाले भने, ‘यहाँको बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।’ तल्लो हेंवा र माथिल्लो हेंवाबाट उत्पादित बिजली काबेली करिडोरको थापाटार सबस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

याङवरकमा निर्माण गरिएको इवाखोला जलबिद्युत् आयोजना एक अर्ब ८५ करोडमा सम्पन्न भएको हो । यो आयोजना निर्माणका लागि ७० प्रतिशत विभिन्न बैंकहरुको ऋण लगानी र ३० प्रतिशत प्रबद्र्धक कम्पनीको लागानीबाट निर्माण गरिएको हो । यहाँ उत्पादिन बिजुली अमरपुरको दुविचौरमा निर्माण गरिएको काबेली करिडोरको सबस्टेशनमा ल्याएर जडान गरिएको छ ।