इलाम । संचालक नभएका कारण करोडौ खर्चेर इलाममा ८ वर्ष अघि बनाइएको शीत भण्डार (कोल्ड स्टोर) अलपत्र परेको छ । इलाम नगरपालिका ९ सेरामा २०६८ सालमा निर्माण सम्पन्न भएको उक्त शीत भण्डार संचालन नहुँदा यहाँ उत्पादित नगदे बाली विराटनगर लगेर भण्डारण गर्नुपर्ने समस्या रहेको छ ।

भारतीय दूताबासको सहयोगमा साढे पाँच करोड खर्च गरी उक्त शीत भण्डार निर्माण गरिएको थियो । २० लाख किलो क्षमता रहेको उक्त विशाल शीत भण्डारलाई पटक पटक संचालनका लागि ठेक्का आव्हान गरे पनि कोही नआएकाले संचालनमा ल्याउन कठिनाइ भएको इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहको भनाइ छ ।

निर्माण डिजाइनमा त्रुटि भएका कारण मल्टी च्याम्बर नहुँदा संचालन ठेक्का लाग्न नसकेको स्थानीयहरुले बताउँदै आएको भए पनि नगरपालिकाले भने त्यस्तो नभएको दाबी गर्दै आएको छ । यस अघि कोल्ड स्टोर संचालनका लागि वार्षिक तीन लाखमा पाँच वर्षका लागि राजधानीका जनक रिजाललाई ठेक्का दिइएको भए पनी उनले संचालन गर्न नसकेपछि अहिले कोल्ड स्टोर बन्द रहेको छ ।

रिजाले संचालन गरेको बेला कोल्ड स्टोरमा किवि र सुन्तला भण्डारण गरिएको थियो । सुुन्तला र किवी केही प्राविधिक कारणले विग्रिएको र अन्य उत्पादन भण्डारण नगरिएको बताइएको छ । इलाममा उत्पादित नगदे बाली, अदुवा, तरकारी सबै कच्ची रुपमै निकासी गर्ने गरिएको छ । कोल्ड स्टोर संचालन भएमा कृषि उत्पादनले उचित मुल्य पाउने स्थानीयको भनाई छ ।

कोल्ड स्टोर नहुँदा इलामका किसानले आलुको बीउ र किवि लगायतका नगदे बाली विराटनगर कोल्ड स्टोरमा लगेर भण्डारण गर्न बाध्य भएका छन् । तराइमा निर्माण भएका केही कोल्ड स्टोरको हुवहु नक्कल गरी बनाइएको उक्त कोल्ड स्टोर स्थानीय आवश्यकता अनुरुप नभएको बताइएको छ । कोल्ड स्टोरको शिलान्यास र उद्घाटन पुर्व सभामुख सुवास चन्द्र नेम्बाङले गरेका थिए ।

यसैबीच, कोल्ड स्टोर संचालनमा नआउदै भत्कन सुरु भएको छ भने त्यहाँ जडान गरिएका उपकरणमा समेत खिया आएर बिग्रने अबस्थामा पुगेको देखिएको छ । कोल्ड स्टोर नचले पनि निर्माण सकिएयता नै नगरपालिकाले विद्युत उपभोग गरेवापतको रकम, नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च व्यहोर्नु परिरहेको छ तर केही समय अघि त्यहाँ जडान गरिएको बिद्युत् लाइन भने काटिएको छ ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि कोल्ड स्टोर संचालनमा नआएको भन्दै संचालनमा ल्याउन यसलाई फरक तापक्रममा फरक खाले तरकारी र फलफुल लगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता रहेको सरोकारवालको भनाई छ ।