झापा । अर्जुनधारा नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस सहिद सुखानी स्मृति प्रतिष्ठानको सहिद स्मृति उद्यानको हाताभित्र सोमबार प्रयोगात्मक कार्यक्रम गरी मनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार अर्जुनधारा नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

अर्जुनधारा ९ स्थित उद्यानको पोखरी (सिमसार क्षेत्र) सालबारी झिलमा श्री नयाँ श्रीनाथ गण चारआली, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्राविधिक टोलीले खोलामा बाढी आउँदा अपनाउनुपर्ने विषयमा जानकारी गराउनुका साथै थप मानवीय क्षति हुन नदिनका लागि प्रयोगात्मक उद्दारका कार्य प्रस्तुत गरेका थिए ।

बाढीले कटान गरेको क्षेत्रमा रहेका स्थानीय बासिन्दालाई कसरी उद्दार गर्ने भन्ने विषयमा जानकारी दिनुका साथै डोरीको माध्यमबाट उनीहरुको उद्दार कसरी गरिन्छ भनेर सुरक्षाकर्मीको उद्दार टोलीले उदाहरणस्वरुप प्रयोगात्मक अभ्यास प्रस्तुत गरेको थियो ।

त्यस्तै, सुरक्षाकर्मीहरुले एउटा लाइफ ज्याकेटबाट पनि पीडितको उद्दार गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका थिए । खोलामा बग्दैै गरेका पीडितलाई लाइफ ज्याकेटको माध्यमबाट उद्दार गर्नुअघि सान्त्वना दिनुपर्ने अभ्यासका क्रममा जानकारी गराइएको थियो ।

उद्दार गरिएका पीडितलाई किनारमा निकालेपछि प्राथमिक उपचार गर्नुपर्ने पनि प्रस्तुतिमा देखाइएको थियो । त्यस्तै, लाइफ रिङ र लाइफ ज्याकेटबाट पनि पीडितको उद्दार गर्न सकिने अभ्यास प्रदर्शन गरिएको थियो ।

धेरैको संख्यामा पीडित भएको अवस्थामा रवर बोट पनि सुरक्षाकर्मीले उद्दार गर्ने गरेको अभ्यास देखाइयो । बोटमा एक जना कमाण्डर, एक जना मेडिकल स्टाफ र चार जना चालक रहने गरेको पनि त्यस अवस्थामा जानकारी गराइएको थियो ।

सुरक्षाकर्मीको उद्दार टोलीले स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनबाट पनि उद्दारका लागि प्रयोग गर्न सकिने अभ्यास प्रस्तुत गरे । उनीहरुले केराको थाम, म्याट, ट्युव, प्लास्टिकको रित्ता बोतल, ड्रमजस्ता घरगाउँमै उपलब्ध हुने साधनको माध्यमबाट पनि पीडितको उद्दार गर्न सकिने अभ्यास प्रस्तुत गरेका थिए ।

उद्दारकै क्रममा सुरक्षाकर्मीको टोली सवार रबर बोट पल्टिएको खण्डमा कसरी पुनः उद्दारमा खट्न सकिन्छ भनेर पनि टोलीले अभ्यास गरेर देखाएका थियो ।

उद्दारमा खटिनुअघि विपद् व्यवस्थापन समिति, प्रशासन प्रमुख, स्थानीय तहका प्रमुख, स्वास्थ्यकर्मीसँग गरिने छलफलका विषय र उद्दारमा प्रयोग गरिने सामग्रीका बारेमा प्रष्ट पारिने गरेको पनि अभ्यास गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद बृख प्रधान, नगर प्रमुख हरिकुमार राना, झापाका प्रमुख जिल्ला अधिकारी उदय राना, गणका प्रमुख सेनानी मुस्काहाङ याक्थुम्वा, सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थाक्सु, नगरकी उपमेयर कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि, बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालगायतको उपस्थिति थियो ।

तस्वीरहरु : रमेश समदर्शी, न्यूज सञ्जाल डटकम