सुजता सुनुवार,
इलाम । दशैँपछि मौसम खुलेसँगै । अन्तुमा पर्यटकको आवत जावत बढेर गएको छ । सुर्योदय नगरपालिकामा रहेको श्रीअन्तुको मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेर गएको हो । पछिल्लोपटक भने सङ्घीय सरकारले पर्यटनको नयाँ एक सय गन्तव्य सूचीमा कन्याम-फिक्कल-अन्तु सर्किटलाई पनि समेटेको छ । यसपछि भने अन्तुप्रति पर्यटकको थप आकर्षण बढ्न थालेको बताइएको छ  ।

बिहान झिसमिसेमै सूर्योदयको दृश्यावलोकन, अन्तु पोखरीमा डुङ्गा सयर, ‘होम-स्टे’को खाना र बेलुकाको जातीय खानासँगै पारिवारिक वातावरणको बसोबास लगायत अन्तु घुम्न आउने पर्यटकका लागि मुख्य आकर्षण हुन् ।

अन्तुको मुख्य विशेषता भनेको नै स्थानीय उत्पादनको परिकार खान पाउनु र लोपोन्मुख लाप्चा समुदायको भाषा सस्कार संस्कृतिसँग नजिक रहनु हो । यसका साथै नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघि नियाल्न पाउनु समेतलाई मानिन्छ ।

यसैमा रमाउनको लागि दैनिक सात हजार भन्दा बढीको संख्यामा पर्यटक अन्तु पुग्ने गरेका छन् । यो संख्या विगत भन्दा २० प्रतिशतले बढी भएको अन्तु डाँडा सामुदायिक होमस्टे सञ्चालक समिति तथा अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अन्तुमा दर्ता भएका ५३ वटा होम-स्टे छन् । होम-स्टे र होटल गरी ६० वटा पुग्छन् । पर्यटकमा वृद्धि भएपछि भने दैनिक झण्डै एक हजार पाँच सयदेखि दुई हजार जनालाई बस्ने ठाउँ नभएको भन्दै फर्काउन अन्तुका पर्यटन व्यवसायीहरु बाध्य भइरहेका छन् ।’

हप्ताको शुुक्रबार र शनिबार प्रायः खचाखच हुने अन्तुमा पर्यटकको आवागमनसँगै एक महिना पछिसम्मलाई बस्नको लागि कोठा बुकिङ हुने गर्छ ।

शुक्रबार-शनिबार मात्रै पाँच हजारदेखि सात हजारसम्म पर्यटकको संख्या पुग्ने गरेको छ । अन्य दिनमा भने चार हजार जना पर्यटक अन्तु पुग्ने गरेको अध्यक्ष आलेले जानकारी दिनु भयो । अघिल्लो वर्ष भने कात्तिक महिनामा एकै दिन मात्रै ११ हजार जना पर्यटक भित्रिएको पर्यटन विकास केन्द्र अन्तुले जनाएको छ ।

अन्तुसम्म पुगेका पर्यटक एक दिनको बसाइदेखि महिना दिनसम्म पनि बस्ने गरेको पाइएको छ । इलाम र कन्याम घुमेपछि पर्यटकको अन्तिम गन्तव्य नै अन्तु हुने गर्छ । अन्तुले गरेको आतिथ्य सत्कारमा पर्यटक निकै रमाउने गरेका छन् ।

अन्तुको चिसोमा रातभर बसेर आगो ताप्ने, नाचगान गर्ने, लेप्चा सस्कृति, लोकल कुखुरा, स्यालको रक्सी, कोदो र फापरको रोटी अन्तुमा पुगेका पर्यटकको पहिलो रोजाइका पक्ष हुन् ।

असोज, कात्तिक र मंसिर यो तीन महिनालाई पर्यटक आवागमनको सिजन मानिन्छ । अन्तुसम्म जाने सडक कालोपत्रे भए पनि सवारी पार्किङ स्थल नहुँदा भने समस्या भएको स्थानीय होटल व्यवसायीको गुनासो छ ।

सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु मात्रै होइन, इलाम जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर पनि पर्यटकले छुटाउनै नहुने सूचीमा पर्छ । यसै गरी जिल्लाको रामसार क्षेत्र माइपोखरी, छिन्टापु, फुस्रे पोखरी, टोड्के झर्ना, सेतीदेवी भालुढुङ्गा, इलाम बजार, कन्याम, पशुपतिनगर फिक्कल लगायतका पर्यटकीय क्षेत्र इलामका थप गन्तव्यस्थल मानिन्छन् । यिनमा पर्यटकको चहलपहल बर्सेनि बढ्दै गइरहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ असोज मसान्तसम्ममा मात्रै आन्तरिक र बाह्य गरी एक लाख ३४ हजार ७७ जना पर्यटक आएका पर्यटन सूचना केन्द्रका गगन घिमिरेले जानकारी दिनुभयो । जसमध्ये ७१ हजार चार सय ६७ पुरुष र ६२ हजार छ सय १० जना महिला रहेका छन् ।

पर्यटकको आवत जावतमा वृद्धि भएसँगै पर्यटन वर्ष २०२० लाई लक्षित गरेर नगरपालिकाले विभिन्न काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ । अहिले कन्याम-फिक्कल र अन्तुमा सङ्घीय सरकारको ५० लाख, प्रदेश नम्बर १ सरकारको ५० लाख र नगरपालिकाको एक करोड गरी दुई करोड रुपैयाँ खर्च गरी विभिन्न काम भइरहेको सुर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले जानकारी दिनुभयो ।

अन्तु समुन्द्र सतहदेखि सात हजार छ सय ३७ फिट उचाइमा रहेको छ । अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । उज्यालो अनलाइनबाट