0 Shares

भीम चापागाईं,
माई (इलाम) । माई नगरपालिका-७, महमाईका युवक तेजेन्द्र तामाङले परिवारको गर्जो टार्न वैदेशिक रोजगारीदेखि ‘नेटवर्किङ’ व्यवसायसम्म गरे। घरपरिवारको हातमुख जोर्ने आवश्यकता पूर्ति गर्न कतार र मलेसिया तीन-तीन वर्ष बसे पनि भनेजस्तो आम्दानी नभएपछि भारतको नयाँदिल्ली पुगेर नेपालमा अवैध भनिएको नेटवर्किङ व्यवसायमा समेत ११ महिना काम गरे।

तर, कतैबाट उनले सोचेजस्तो आयस्था नभएपछि उनी घर फर्केर कृषि व्यवसायमा लागेका छन्। ‘यहीं खेतीपाती गरेर अन्य ठाउँमा रोजगारी गरेभन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोच नै थिएन’, बेमौसमी तरकारी खेती व्यवसायमा लागेका तामाङ भन्छन्, ‘प्राविधिक ज्ञान लिएर तरकारी खेती गर्न सके त्यसैलाई व्यावसाय बनाउन सकिन्छ भन्ने थाहा पाएको भए घरपरिवार छोडेर, ज्यानै बाजी थापेर किन वैदेशिक रोजगारीमा भौंतारिने थिएँ र !’

तामाङ अहिले टमाटर, रायोसाग, सिमीलगायतको बेमौसमी खेती कसरी गर्न सकिन्छ भन्ने सिकाउन नगरपालिकामा आयोजना गरिएको तालिम लिँदैछन्। तरकारीको खेती व्यावसायिक बनाउने मात्र होइन, अर्गानिक उत्पादन गर्ने योजनासमेत छ उनको। ‘मानिसलाई कडा खाले रोग तरकारीमै हुने विषादीबाट लाग्दोरहेछ’, तामाङले भने, ‘हामीले गाउँमा पनि त्रिवेणी कृषि सहकारी संस्था नै बनाएर अर्गानिक उत्पादनको लहर चलाउँदैछौं।’

उनले तरकारी उत्पादन हुने एउटा निश्चित सिजन हुने भएपनि प्राविधिक हावापानी मिलाउँदा जुनसुकै तरकारी जुनसुकै सिजनमा उत्पादन गर्न सकिनेरहेछ भन्ने भर्खरै थाहा पाएको सुनाए। र, विदेशमा धेरै दुःख भोगेपछि मात्रै गाउँमै केही गर्न सकिन्छ भन्नेमा आफूजस्ता युवाको आँखा खुल्ने गरेको पनि उनले बताए।

माई नगरपालिका-१, पालटारका अर्का युवक गोविन्द तामाङ कुखुरापालन व्यवसाय गर्दैछन्। वैदेशिक रोजगारीकै लागि चार वर्ष दुबही बसेका उनले एक वर्ष इजरायल पुगेर पनि कृषि व्यवसाय अवलोकन गर्न पाए। त्यहाँबाट फर्केर कुखुरापालन व्यवसाय थालेका गोविन्दको फार्ममा अहिले हजार कुखुरा छन्। ‘यो व्यवसाय त छँदैछ, अब च्याउ खेतीलाई पनि व्यावसायिक बनाउन उद्योग सुरु गर्दैछु’, च्याउखेतीको तालिम लिइरहेका उनी भन्छन्, ‘च्यायखेतीबाट थोरै लगानी गरेर पनि धेरै आम्दानी गर्न सकिनेरहेछ।’ च्याउखेती गर्न कुखुरापालनजस्तो कुनै जोखिम पनि नहुने भएपछि उनी त्यसमा आकर्षित भएको सुनाउँछन्।

यही नगरपालिकाको वडा-८ का शेरबहादुर बस्नेत पनि दुई वर्ष कतारमा रोजगारी गरेर घर फर्किएका छन्। ‘विदेशमा सोचेजस्तो कमाइ भएन, बरु यहीं बसेर निर्वाह चलाइरहेको व्यवसायलाई अलिकति प्राविधिक बनाउनसके यतै आम्दानी राम्रो हुनेरहेछ’, बाख्रापालनको तालिम लिइरहेका युवक शेरबहादुर भन्छन्, ‘अचेल त कमाउनमात्र होइन, देखासिकी गर्न पनि रोजगारी गर्न खाडी जाने चलन बसिसक्यो।’

शेरबहादुरले बोयर जातका बाख्रा पालेर त्यसैलाई व्यवसाय बनाउन तालिम लिइरहेको सुनाए। ‘बाख्रा भन्नेबित्तिकै जस्तोसुकै पालेर पनि हुँदैन, राम्रो जातकै चाहिने रहेछ’, उनले भने, ‘अनि, बाख्रालाई रोग लागेको थाहा पाउने, सुई हान्ने, पाठालाई खसी पार्न पनि सिकेपछि यो व्यवसाय गर्न सकिनेरहेछ।’

माई नगरपालिकाको ७० प्रतिशतभन्दा बढी भूमि ऐलानी छ। ऐलानी जमिनलाई बैंक धितो राखेर ऋण लिनेसमेत आधार नभएपछि जिल्लाकै धेरै संख्याका युवा यो नगरपालिकाबाट वैदेशिक रोजगारीमा जान बाध्य छन्। तर, वैदेशिक रोजागारीमा गएका युवाले सोचेजस्तो आम्दानी गर्न त सकेका छैनन् नै, विदेश पुगेर फर्केकाहरूसमेत अन्य युवालाई रोजगारीका लागि विदेश नजान बोलीले होइन, व्यवहारले नै सुझाउँदैछन्। निर्वाहमुखी कृषि र पशुपालन पेसा गरेर कमाइ नभएपछि विदेश हान्निएका युवा विदेशमा देखेर र सिकेर घर फर्किएपछि त्यही पेसालाई व्यावसायिक बनाउन लागेका हुन्।

चार वर्ष मलेसियाको रोजगारी गरेर आएका माई नगरपालिका-४ का धर्मदेव ढुंगानले ३० लाख रुपैयाँ लगानी गरेर बाख्रापालन व्यवसाय थाले। ‘सुरुमा यसको प्राविधिक ज्ञान थिएन तर विदेशभन्दा यहीं गरेको व्यवसायले उँभो लागिन्छ भन्ने अनुभव चाहिँ बटुलियो’, उनले भने, ‘अहिले बाख्रापालनको प्राविधिक सीप पनि सिक्दैछु, अब यही व्यवसायबाट राम्रो कमाइ गर्ने आत्मबल बढेको छ।’

माई नगरपालिका-७ कै मानबहादुर खड्का पनि पछिल्लो समय रोजगारी नपाएको भन्दै निराश बनिरहेका युवाका लागि प्रेरणाको स्रोत हुन्। वैदेशिक रोजगारीकै लागि झण्डै दशकसम्म दुबई, साउदी अरब र मलेसिया बसेका खड्का तरकारी, च्याउखेती र बाख्रापालनमा रमाउँदैछन्।

‘हामीले गरिरहेको खेती र पशुपालन तरिका नपुगेर व्यावसायिक बन्न नसकेको रहेछ’, उनले अनुभव सुनाए, ‘तरकारी, च्याउ र बाख्रापालनको प्राविधिक ज्ञान भएको भए न विदेश जानुपर्ने रहेछ, न अरू व्यवसाय नै गर्नुपर्छ।’ तीन वर्ष मलेसिया बसेका माई नगरपालिका-९ कै तुलसी श्रेष्ठको अनुभव पनि उस्तै छ। भन्छन्, ‘जे काम गर्ने हो, त्यसलाई निर्वाहमुखी होइन, व्यावसायिक बनाउन सिक्नुपर्छ।’

माई नगरपालिकासहित जिल्लाका युवाले विदेशमा पसिना बगाएर पैसा मात्रै कमाएनन्, त्योभन्दा महत्वपूर्ण चाहिँ गाउँमै बसेर जीवन धान्ने सीप बोकेर आएका छन्। तर, व्यावसायिक बन्न चाहने यस्ता युवालाई लगानी र प्राविधिक सीपको खाँचो देखिएको छ। यही खाँचो टार्न मानवअधिकार मञ्च नेपालले माई र रोङ गाउँपालिकामा चाहिँ च्याउ, बेमौसमी तरकारी खेती, बाख्रा र कुखुरापालनको तालिम दिइरहेको छ।

‘युवालाई स्वदेशमै उद्यम-व्यवसाय गर्न प्रेरित गर्ने उद्देश्यले माई नगरपालिका र रोङ गाउँपालिकामा कृषि र पशुपालनको तालिम सञ्चालन गर्दैछौं’, मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा भन्छन्, ‘मञ्चले सञ्चालन गरेको सामाजिक रूपान्तरणका लागि युवा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका लागि युवा समूह परिचालन परियोजनाले युवालाई राहत मिलेको छ।’

परियोजनाले युवालाई विदेश नगई स्वदेशमै रोजगारी र आर्थिक उन्नतिका सम्भावना देखाइदिने, विदेश जानै परे उचित ज्ञान र सीप सिकेर मात्र जान परामर्शसमेत दिइरहेको छ। जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका माई नगरपालिका, रोङ गाउँपालिका र सदरमुकामस्थित मञ्चकै कार्यालयमा केन्द्र स्थापना गरिएको उनले बताए। १८ देखि ३० वर्ष उमेरसमूहका युवा विशेषगरी यो परियोजनामा संलग्न छन्। लक्षित वर्गको विषयगत क्षमता, सामाजिक संरचनाको विकास, प्रवर्धन, सञ्जालीकरण र पैरवी गर्दै समस्यामा परेर फर्किएका आप्रवासी तथा मानव बेचबिखनबाट पीडितको सामाजिक-आर्थिक पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्य परियोजनाको छ।

माई नगरपालिका-२ की मुनादेवी तामाङले गाउँमै च्याउखेती व्यवसाय गरेर राम्रो कमाइ गर्न सकिने सुनाएपछि दुबहीमा रोजगारी गरिरहेका उनका पति धनवीरसमेत घर आउने भएका छन्। ‘मैले च्याउखेतीको तालिम लिएपछि गाउँमै व्यवसाय गरेर आम्दानी गर्न सकिने श्रीमान्लाई पनि बताएँ’, उनले भनिन्, ‘आउँदो फेब्रुअरीमा उहाँ पनि अब विदेश नजाने गरी आउँदै हुनुहुन्छ।’

रोङ गाउँपालिकाकी नानुमाया तामाङले युवाहरू गाउँमै व्यवसाय गर्न इच्छुक भएपनि प्राविधिक ज्ञान-सीप अभाव रहेकाले निराश भइरहेको बताइन्। ‘गाउँमै खेती र पशुपालन गरिरहेका युवा सोचेजस्तो आम्दानी नभएपछि विदेश जाने लहर नै चलिरहेको छ’, उनले भनिन्, ‘तर, गाउँमा कुन व्यवसाय कसरी गर्ने भन्ने प्राविधिक ज्ञान हुने हो भने अहिले विदेश गइरहेका र गाउँमा निराश भएर बसेका युवालाई अवसर हुनेछ।’ उनी आफूले पनि बाख्रापालनको तालिम लिएर त्यसैलाई व्यवसाय बनाउने योजना रहेको सुनाइन्।

जिल्लाकै साखेजुङमा रहेको रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटका प्रमुख होमनाथ अधिकारी किसानलाई प्राविधिक ज्ञान किसानसके मात्रै व्यावसायमा सजिलो हुने बताउँछन्। ‘व्यवसाय सुनेर, पढेरभन्दा पनि गरेर जान्नुपर्छ’, पशुपालन र खेतीपातीको तालिम, स्रोतव्यक्ति उपलब्ध गराइरहेको इन्स्टिच्युटका प्रमुख अधिकारी भन्छन्, ‘इलामजस्तो खेतीयोग्य जमिनका किसानलाई दक्ष बनाउनसके आर्थिक उन्नतिको अर्को बाटो चाहिँदैन।’

माई नपा र रोङ गाउँपालिकाले पनि युवालक्षित कार्यक्रमलाई निरन्तरता दिन प्रयास गरेका छन्। ‘माई नगरको अधिकांश भूमि आफ्नो नाममा नभएकाले कुनै व्यवसायका लागि लगानी जुटाउन नसक्दा यहाँका युवा निरास भएको हामीलाई थाहा छ’, नगरकी उपमेयर विष्णुमाया आचार्यले भनिन्, ‘तर, नगरले बैंकले जस्तो जग्गा धितो हेरेर होइन, उनीहरूले खेती गरिरहेको जमिनका आधारमा व्यवसायका लागि उत्साहित गर्दैछ।’ युवाका लागि व्यावसायिक खेती र पशुपालन कार्यक्रमलाई नगरले प्राथमिकता दिएको उनले बताइन्। नागरिक न्यूजबाट