काठमाण्डौ । तिहारमा १० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भएको छ । यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तिज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने केही सन्तोषजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

बितेका ४-५ दिनमा कारोबारले रुप फेरेको उहाँले बताउनुभयो । तर, यो कारोबार पोहोरको तुलनामा आधा मात्र भएको पनि निवर्तमान अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

यसपटक सुनको भाउ तोलाको ७० हजार नाघेपछि सुनको बजार घटेको थियो । वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ । यो भाउ भोलि बुधबारसम्म कायम रहनेछ ।