उर्लाबारी। कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीहरूको पुख्र्यौली पेशा संकटमा पर्दै गएको छ । नेपालमा जोगीलाई माग्ने, भिखारीका रुपमा हेर्न थालिएपछि अल्पसंख्यक जोगीहरू ‘फेरी’ लगाउन भारतका नेपाली भाषी गाउँतिर जान थालेको कानेपोखरी-७ का दुर्गालाल जोगीले बताउनुभयो ।

नेपालमा पुख्र्यौली पेशाबाट घर खर्च टर्दैन । खेतीपाति छैन । जहाँ आफ्नो सम्मान हुन्छ । त्यहीँ जाने हो । तेह्रथुमको फेदाप २ जौवारीबाट कात्तिक ४ गते लेटाङ झर्नु भएका मोहनबहादुर जोगी एकमहिना भर लेटाङ मै डेरा जमाएर फेरी लगाइरहनु भएको छ । साथी अनील जोगीसँग आउनु भएका मोहनले राति २ बजे पछाडि फेरी लगाउन हिड्ने र विहान ७ बजेबाट सिदा उठाउन हिड्ने गरेको सुनाउनु भयो ।

जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रुपमा एक पटक फेरी फुकेर हिड्नुपर्ने परम्परागत मान्यता रहेको छ । त्यसैले जति पढे पनि उनीहरू एक पटक फेरी लगाउन हिड्ने गरेका छन् । पछिल्लो समय नेपालमा भन्दा भारतका सिक्किम, दार्जिलिङ र कालिङ्पोङ जस्ता नेपाली भाषी सहरमा फेरी लगाउन जान थालेका छन् ।

संखुवासभाको सिद्धपोखरीबाट बसाई सरेर मोरङको कानेपोखरी ७ आएका ५३ घर जोगी परिवारका अधिकांश पाका व्यक्तिहरू ‘फेरी’ लगाउन भारततिर जाने गरेको दुर्गालाल जोगी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पुर्खौली पेशा नै ‘फेरी’ लगाउने हो । नेपालमा खासै राम्रो दृष्टिले हेरिंदैन ।’ त्यसैले विकल्पका रुपमा भारततिर जाने गरेको दुर्गालालले सुनाउनुभयो ।

जोगीहरू खेती गर्नु अघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन् । हरेक वर्षको चण्डी पूर्णिमाको भोलिपल्ट विहान घर नजिकैको दोबाटोमा कूल पूजाको सामग्री बिसर्जन गर्ने वेला वर्र्षभरी रोगव्याधि हैजा नआओस् भनेर भूमि पूजा गर्ने गर्छन् ।

मौलिक सँस्कृति/परम्पराको रुपमा हरेक वर्र्ष कात्तिक र चैत महिनामा टाढा-टाढासम्म फेरी फुक्नका लागि हिड्ने यो जाति नेपालमा चलेको द्वन्द्वको मारमा परेको थियो । राति मात्र फेरी (वराँठको सिंग) फुक्ने जोगीहरू हरेक घरमा पुगी ४ वटा सुरमा र मूल ढोकामा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु हुँदैन । तर, द्वन्द्वको समयमा राति हिड्न नपाएका जोगीहरू १० वर्षसम्म पेशा संकटमा परेपछि समाजसँग सम्बन्ध नै विस्थापित भएको बताउँछन् ।

वर्षको दुई पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने परिवारका सदस्यहरूलाई रोगव्याध नलाग्ने र दशाहरू टरेर जाने धार्मिक विश्वास रहेको छ । विगतमा अन्य समुदायले झारफुक गर्न समेत लगाउने गरेकोले जोगीहरूलाई कात्तिक र चैतमा भ्याई नभ्याई हुने गथ्र्यो ।

अहिले समाजमा हिन्दूधर्मावलम्बीको संख्या घट्दै जाँदा पेशा संकटमा परेको ५४ वर्षीय मदन जोगी बताउनुहुन्छ । लेटाङ बजारमा सिदा उठाएर हिडिरहनु भएका मदनले भन्नुभयो, ‘पहिले पहिले कात्तिक र चैतमा उठाएको भिक्षा९सिदा०ले वर्षभरि खान पुग्थ्यो ।’

भिक्षामा चामल, तेल, नून बेसार र दाल दिने चलन थियो । अहिले कतिपयले ५/१० रुपियाँ घरबाटै फालिदिन्छन् । गाउँ पातलो भए पनि सामाजिक सम्मान पाइन्थ्यो, अहिले गाउँ बाक्लो छ तर समाजमा धेरै धर्मका मान्छेहरू भएकाले अपमानित हुने गरेको उहाँको भोगाइ छ ।