अर्जुनधारा । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले जनताले साना–साना विकासका कामका लागि सिंहदबार धाउनुपर्ने अवस्थाको पूर्णरुपमा अन्त्य भएको बताएका छन् ।

जनताले पाउने अधिकार र विकासका काम स्थानीय तथा प्रदेश सरकारबाटै प्राप्त हुने भएकाले सिंहदरबार धाउनुपर्ने बाध्यता हटिसकेको उनले दाबी गरे । शनिबार झापाको अर्जुनधारा नगरपालिकाले गठन गरेको टोल विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आङ्वोले उक्त कुरा बताएका हुन् ।

सोही कार्यक्रममा नगरप्रमुख हरिकुमार रानाले टोल विकास समितिको अधिकार र कार्यक्षेत्र फराकिलो भएको बताए । उनले विकासका काम सही तवरबाट भएको–नभएको प्रत्यक्ष निगरानी गरी खबरदारी गर्न टोल समितिलाई आग्रह पनि गरे ।

उनले सुशासनसहितको टोल निर्माण गर्न समितिले सहयोग पुर्याउनुमा जोड दिएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधाराका नगर सचिव राजु शेर्मा, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईलगायतले टोल विकास समितिलाई जिम्मेवार बनेर नगरको विकासमा सघाउ पुराउन शुभकामना दिएका थिए ।