काठमाडौँ । नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’मा सामान्य सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको सन् २०१९ को प्रतिवेदन अनुसार नेपालले अघिल्लो वर्षभन्दा तीन स्थान सुधार गरेको छ । सन् २०१२ यताकै यो राम्रो तथ्याङ्क हो ।

विश्वका १८० देश रहेको सूचीमा नेपाल ११३औँ स्थानमा छ । नेपालले कुल १०० मा ३४ अङ्क पाएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ मा नेपालले ३१ अङ्क पाउँदै १२४औँ स्थानमा थियो । सन् २०१२ मा नेपालले २७ अङ्क पाउँदै १३९ औँ स्थानमा थियो । सन् २०१९ मा डेनमार्क कम भ्रष्टाचार हुने मुलुकको पहिलो नम्बरमा रहँदा सोमालिया अन्तिममा रह्यो । डेनमार्कले ८७ अङ्क पाउँदा सोमालिया नौ अङ्कसाथ १८०औँ स्थानमा नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक पद दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायको कारबाही, कर असुली सम्बन्धी निर्णय, सुरक्षा निकायमा भएको सदाचारको पहल लगायतले नेपालको सूचकाङ्कमा सुधार देखिएको हो । सार्वजनिक सरोकारका विषयमा नागरिक समाजको भूमिकाले पनि सूचकाङ्कमा सामान्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली मुलुकमा भुटान कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा छ । भुटान ६८ अङ्क पाउँदै २५औँ स्थानमा छ । यस्तै भारत र चीन समान ४१ अङ्क प्राप्त गर्दै ८०औँ स्थानमा छन् । दक्षिण एसियामा नेपाल पाँचौँ स्थानमा परेको छ । श्रीलङ्का ९३औँ स्थानमा रहँदा पाकिस्तान १२०औंँ स्थानमा छ ।

माल्दिभ्स २९ अङ्क प्राप्त गरी १३०औँ स्थानमा छ । बङ्गलादेशले २६ अङ्क प्राप्त गरेको छ । बङ्गलादेश १४६औँ स्थानमा छ । १६ अङ्क प्राप्त गरेको अफगानिस्तान दक्षिण एसियाली मुलुकको अन्तिम स्थानमा छ । अफगानिस्तान १७३औँ स्थानमा छ ।