झापा । बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ ।

उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने गरी फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रमसहित मनाउन लागेको स्वर्ण महोत्सवको तयारी लगभग पूरा भएको स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए ।

स्वर्ण महोत्सव एवम् साताव्यापी श्री १०८ सागर पाठ पारायण श्रीमद् देवी भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) का लागि मन्दिर परिसरमा आवश्यक पण्डाल तथा आकर्षक स्वागतद्वार निर्माण भइसकेका छन् भने आगन्तुक पाहुनाहरुका लागि आवास तथा खानपानको व्यवस्थापन भइसकेको बताइएको छ । यसैगरी, महोत्सवको प्रचार–प्रसारका लागि झापाको दमकदेखि पूर्वीद्वार काँकरिभट्टासम्म १० वटा स्वागतद्वार निर्माण भइसकेको छ ।

यसैबीच, महोत्सवलाई भव्य र सफल बनाउन प्रचारात्मक अभियानसहित सोमबार बृहत् धार्मिक मोटरसाइकल र्याली सम्पन्न गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषदको व्यवस्थापनमा मन्दिर परिसरबाट निस्किएको र्याली पूर्वतर्फ कनकाईबाट दक्षिण घैलाडुब्बा हुँदै बिर्ताबजार निस्किएर बिर्तामोडहुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

र्यालीको उद्घाटन महोस्व मूल आयोजक समितिका अध्यक्ष युवा सन्त गादीपति जगतनन्दन शास्त्रीजी महाराज र महासचिव शारदाप्रसाद थपलियाले संयुक्त रुपमा गरेका थिए ।

दातहरुबाट आर्थिक संकलन गरी गर्न लागिएको उक्त बृहत् धार्मिक अनुष्ठान सम्पन्न गर्न ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सो कार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिएका छन् ।

वि. सं २०२६ सालमा दानवीर तत्कालीन रापंस स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका बस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भइ धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।