अमित खम्बू,
अर्जुनधारा । आज फागुन २१ अर्थात् न्याय, समानता र प्रजातन्त्र प्राप्तिका लागि २०२७ सालदेखि २०३० सम्म भएको झापा आन्दोलनको क्रममा पक्राउ परेका पाँच जना रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले शहादत प्राप्त गरेको दिन ।

तत्कालिन व्यवस्थाका विरोधी घोषित गर्दै उनीहरुको २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानामा इलाम र झापा जिल्लाको सिमाना हाल अर्जुनधारा नगरपालिका–३ र माई नगरपालिका–४ मा रहेको सुखानीमा गोली हानी हत्या गरिएको थियो ।

हत्या भएको ४३ वर्षपछि झापा आन्दोलनका जीवित योद्धा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको सरकारबाट शहीद घोषणा गरिएका उनीहरुको स्मृतिमा प्रत्येक वर्ष सुखानी शहीद स्मृति प्रतिष्ठानले श्रद्धाञ्जलि सभालगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

पूर्व एमाले र पूर्व माओवादीले छुट्टाछुट्टै सभा गर्दै आएकोमा दुवै पार्टी एक भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएपछि भने पहिलोपटक पार्टीका दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गतवर्ष सो सभा सम्पन्न भएको थियो । २०५६ साल चैत २९ गते जिल्ला प्रशासन कार्यालयमा काठमाडौंमा दर्ता भएको प्रतिष्ठानले यसअघि पार्टी र सरकारका विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम गर्दै आएको छ ।

पार्टी अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री ओली प्रमुख संरक्षक रहेको प्रतिष्ठानले अर्जुनधारा–९ स्थित सालबारीमा सुखानी शहीद स्मृति उद्यान निर्माणसँगै विविध कार्यक्रमहरु गर्दै आएको छ । सोही क्रममा ‘शहीदहरुको सम्मान र महिला खेलाडीहरुको प्रोत्साहन’ भन्ने उद्देश्यले २०७३ सालदेखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेसँगै उक्त प्रतियोगित गत वर्षदेखि एक नम्बर प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकपमा रुपान्तरण भएको छ ।

स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमध्ये लामो समयको प्रयत्नपछि २०५८ साल पुस १० गते प्राप्त भएको २२ दशमलव ४ हेक्टर क्षेत्रफलमा पाँच जना शहीदको पूर्णकदको शालिक, शहीद स्मारक, उद्यान, कछुवा उद्दार तथा संरक्षण केन्द्र, भीमसेन पोखरी, सामुदायिक भवन, वनभोज स्थल, बाल उद्यान, पैदल मार्ग निर्माणलगायत रहेको छ ।

उद्यानको अवधारणा विकास गर्न र योजना सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने वातावरणविद् कृष्णप्रसाद ओली, तत्कालिन नापी विभागका पूर्व महानिर्देशक पूण्यप्रसाद ओली, आवास तथा भवन विभागतका तत्कालिन महानिर्देशक इन्जिनियर किशोर थापा, सहप्राध्यापक डा. मदन कोइराला, प्राणीशास्त्री सहप्राध्यापक डा. कालुराम खम्बू, मानवशास्त्री डा. जीवनाथ प्रसाईं, भूगोलविद् तथा समाजशास्त्री देवीप्रसाद डोटेल, आर्किटेक्ट मीरा ज्ञवाली र प्रतिष्ठानका वर्तमान महासचिव हर्कराज राईलाई प्रतिष्ठानले सम्मानित गरेको छ ।

त्यसैगरी झापा आन्दोलन र सुखानीमा पाँच जनाको हत्या भएको विषयमा चलचित्र निर्माण गर्न सहयोग पु¥याएको प्रतिष्ठानले सहादतस्थल संरक्षणको लागि स्थल घेराबारा, तटबन्धनसँगै सालबारीस्थित उद्यानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न अगाडि बढेको पाइन्छ ।