खुदुनाबारी । दुवै मिर्गौला फेल भई हाल उपचाररत् झापा अर्जुनधारा–२ बेलटारकी ६७ वर्षीया तालमाया तामाङको सहयोग रकम जुटाउन अभियान सञ्चालन गरिने भएको छ ।

स्थानीय वृखबहादुर गोलेको अध्यक्षतामा गठन भएको १५ सदस्यीय तालमाया तामाङ बचाउ अभियान समितिले सो अभियान सञ्चालन गर्ने शुक्रबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

अध्यक्ष गोलेका अनुसार नवगठित समितिले स्थानीय एक्सल डेभलपमेन्ट बैंकको खुदुनाबारी शाखामा खाता खोल्ने तथा विभिन्न संघसंस्था र दाताहरुसँग उनको जीवन बचाउनका लागि सहयोग रकम जुटाउन पहल गर्ने बताइएको छ ।

गतवर्षको माघमा हातखुट्टा सुन्निने, खाना अरुची हुने, वाकवाकी लाग्नेलगायत लक्षण देखा परेपछि स्वास्थ्य परीक्षणको लागि श्रीमान तिलबहादुरसँग धरानस्थित घोपामा पुगेकी उनलाई परीक्षणपछि मिर्गौलामा समस्या भएको पत्ता लागेको थियो ।

घोपामा समस्या देखा परेपछि उनलाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका लागि भर्ना गरी चार दिनसम्म उपचार गरिएको श्रीमान तिलबहादुरले बताए । उपचारपछि डिस्चार्ज दिने क्रममा अस्पतालका चिकित्सकले रोग बल्झियो भने बिरामीलाई विराटनगर लान सुझाइएको थियो । गत असोजमा पुनः रोग बल्झिएपछि उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुगेका उनलाई प्रत्यारोपणको लागि परिवारका सदस्यले मिर्गौला दिने हुँदा २० लाख र एउटा मिर्गौलाको थप १३ लाख लाग्ने अस्पतालबाट जानकारी पाएको तिलबहादुर बताउँछन् ।

मजदुरी गरी छ जनाको परिवार धान्दै आएका उनले १३ महिनाको अवधिमा अनुमानित आठ लाख खर्च भइसकेको जानकारी दिए । सम्पत्तिको रुपमा एक कठ्ठा ऐलानी जमिनबाहेक अन्य आम्दानीको स्रोत नभएकोले सबैसँग हात फैलाउनुबाहेक तिलबहादुरको परिवारको अन्य विकल्प नभएको स्थानीय धनबहादुर तामाङले बताए ।

हप्ताको दुई पटक कोशी अस्पतालमा डायलासिस गर्न जाने गरेका तालमायाको डाइलासिस प्रक्रिया निःशुल्क भए पनि एक पटक जाँदा यातायात, खाना, औषधि, रगतलगायतमा अनुमानित पाँच हजार खर्च हुने गरेको छ । तालमायाको डाइलासिस प्रक्रियालाई जिल्लाकै कुनै अस्पतालमा निःशुल्क गराउन सकियो भने पनि आर्थिकरुपमा विपन्न तिलबहादुरको केही खर्च कम हुने स्वास्थ्यकर्मी एवम् अर्जुनधारा–१ का वडासचिव खगेन्द्र लिङदेनले बताए ।

आर्थिकरुपमा विपन्न तालमायाको जीवन बचाउन इच्छुक महानुभावले ९८१६९६६१९३ र ९८६१०१२८४६मा सम्पर्क गरी सहयोग पु¥याउन सबैसँग समितिले अपिल गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा गोविन्द घिमिरे, सचिवमा खगेन्द्र कोइराला, सहसचिवमा महेन्द्र आङदेम्बे, कोषाध्यक्षमा सुनिता उप्रेती र सदस्यहरुमा अर्जुन समाल, जानुका न्यौपाने, डम्बरकुमारी अधिकारी, तारा न्यौपाने, दधिराम बुढाथोकी, निर्माण आचार्य, निरानन्द पोखरेल, बद्री गुरागाईं, रोम आचार्य र सरस्वती ओझा रहेका छन् ।