झापा । झापा अर्जुनधाराकी कराते प्रशिक्षक पार्वती राजवंशीले आफैँ मास्क सिलाएर वितरण गरेकी छन् । बजारमा मास्कको अभाव भइरहेको बेला पार्वतीले भने घरमै उत्पादन गरेर खेलाडी भाइबहिनीलाई वितरण गरेकी हुन् ।

अर्जुनधारा ९ स्थित खरबन्दी कराते डोजोकी प्रशिक्षक राजवंशीले नमुना युवा क्लबमा प्रशिक्षणमा रहेका ५० जना साना नानीहरुलाई आफूले बनाएको मास्क वितरण गरेकी हुन् ।

राजवंशीसँगै अर्जुनधारा ९ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईलगायतले मास्क वितरण गरेका थिए । कोरोना भाइरसबाट हुने संक्रमण, बच्ने उपायबारे जानकारी दिँदै आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने मूल नाराका साथ जनचेतनामुलक सामग्री पनि वितरण गरिएको थियो ।

यसैबीच, झापाको दमकका मास्क उत्पादन सुरु भएको छ ।बजारहरुमा मास्कको अभाव भईरहदा दमकका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको हो ।

समाजकी उपाध्यक्ष लक्की सिटौलालेका अनुसार दमक उद्योग वाणिज्य संघ दमकसँगको समन्वयमा दैनिक रुपमा छ जना महिलाहरुले मास्क उत्पादन गरिरहेकका छन् । दैनिक पाँच सयभन्दा बढी मास्क उत्पादन गरिरहे पनि बजारमा माग उच्च रहेको उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

दमकमा उत्पादन भएको मास्क होलसेलमा प्रतिगोटा १५ रुपैँयामा बिक्री भइरहेको बताईएको छ । व्यवसायीले सर्वसाधारणलाई २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न उत्पादक संस्था सुन्दर समाज नेपालले आग्रह गरिरहेको संस्थाका पदाधिकारीहरुले जनाएका छन् ।

समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफा बापतको रकम आश्रममा आश्रित विपन्न तथा अनाथ बालबालिका र ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ ।