झापा । नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न र कोरोना भाइरसबारे सचेत गराउन अर्जुनधाराका तीन स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको विशेष ओहोरदोहार र जमघट हुने स्थानका रुपमा नगरपालिकाको कार्यालयमा आइतबारदेखि हेल्प डेस्क स्थापना गरिएको हो । नगरपालिकाको कार्यालयमा आइतबार स्थापना गरिए पनि अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कमा बिहीबार नै हेल्प डेस्क स्थापना गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए ।

उनका अनुसार हेल्प डेस्कमा खटिने स्वास्थ्यकर्मीले आगन्तुकको इन्फारेट थर्मामिटरबाट ज्वरो नाप्ने, साबुन पानीले हात धुन आग्रह गर्ने गरिएको छ । आइतबारमात्र नगरपालिकाको कार्यालयमा आएका २ सयभन्दा बढीको ज्वरो नापिएको थियो ।

यसैगरी शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा पनि हेल्प डेस्क स्थापना गरिएको छ । तर, इन्फारेट थर्मामिटर अभाव भएकाले यहाँ ज्वरो नापिएको छैन । स्वास्थ्य जाँचका लागि आउने सेवाग्राहीलाई अनिवार्य हात धुने व्यवस्था मिलाइएको नगरका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

नगरले वडा वडामा समेत हेल्प डेस्क स्थापना गर्ने लक्ष्य लिए पनि इन्फारेट थर्मामिटर उपलब्ध हुन नसकेको र पर्याप्त स्वास्थ्यकर्मी पनि अभाव रहेको प्रमुख प्रशासकीय अधिकृत भूर्तेलको भनाइ छ । तर, इन्फारेट थर्मामिटर उपलब्ध हुन साथ स्वास्थ्यकर्मीको व्यवस्थापन सम्बन्धित शाखाबाट हुने उनले सुनाए ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि घरमै हेण्डस् सेनिटाइजर बनाउने प्रयास पनि नगरले सोच बनाएको छ । संक्रमण रोक्न र बच्नका लागि पूर्वतयारी र सचेत रहे पनि पुग्ने उनको भनाइ छ ।