अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्रीको व्यवस्थापन गर्न बहस शुरु गरेको छ ।

नदीजन्य सामग्रीको व्यवस्थापन समुदायमा हस्तान्तरण गरेपछि आन्तरिक आम्दानीको स्थायी स्रोत रहने भएकाले समुदायमा हस्तान्तरण गर्न बहस शुरु गरिएको नगरले जनाएको छ ।

नगरपालिकाले पटक पटक ठेक्का लगाउँदा पनि यो वर्ष नदीजन्य सामग्रीको ठेक्का लाग्न नसकेपछि नदीजन्य सामग्री व्यवस्थापनका लागि नगरपालिकाले पहल थालेको हो ।

नगरपालिकाको सभाहलमा सोमबार आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले आगामी वर्षदेखि समुदायमा हस्तान्तरण गरेर भए पनि स्रोतको उपयोग गर्नुपर्ने सुझाव दिए ।

उनले समुदायमा हस्तान्तरण गर्दा सामुदायिक वनको व्यवस्थापन प्रभावकारी हुने समेत बताए । कार्यक्रममा नगरप्रमुख हरिकुमार रानाले नगरपालिकाले नदीजन्य सामग्रीको ठेक्काको लागि नगरपालिकाले हालसम्म गरेको प्रयासका बारेमा प्रष्ट पारेका थिए । उनले नदीजन्य सामग्रीको ठेक्का नलाग्दा सबैभन्दा ठुलो आन्तरिक आम्दानीको स्रोतमा प्रभाव परेको जानकारी गराए ।

नगरपालिकाले समस्या समाधानका लागि नगरपालिकामा बृहत छलफल आयोजना गरेको हो । ठेक्का नलागेसंगै नगरपालिकाले यो वर्ष ४ करोड २९ लाखभन्दा बढ्री आन्तरिक आम्दानी गुमाउने निश्चित प्रायः भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायत नदीजन्य सामग्रीको व्यवस्थापन र आन्तरिक स्रोतको सुनिश्चितताको बारेमा आफ्ना भनाइ राखेका थिए ।