भद्रपुर । झापामा यसै वर्ष झण्डै २० हजार बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोपलाई पनि समावेश गरेपछि जिल्लामा नियमित खोप लिइरहेको १९९५० बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

यो सँगसँगै, नियमित खोप सेवा कार्यक्रममार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रम पनि चलाइने पौडेलले बताए । यो पोलियाेजस्तै मुखबाट खुवाउने खोप हो । यो खोप जन्मेको ६ हप्ता र दश हप्तामा लगाउनु पर्दछ ।

झाडा–पखालाबाट हुने बाल मृत्युदर घटाउने उद्देश्यले सरकारले राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोपलाई पनि समावेश गरिएको बताइन्छ । रोटा भाइरसको कारणबाट मानिसमा झाडापखालाको समस्या देखिन्छ ।

यो रोगबाट प्रायः ३ देखि ५ वर्षका बालबालिका संक्रमति हुने गरेको बाल स्वास्थ्य महाशाखा, खोप महाशाखाले प्काशन गरेको सचेतना पुस्तिकामा उल्लेख छ ।

जिल्लामा पहिलोपटक रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपछि स्वास्थ्य कार्यालय झापाले जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकालाई यस रोग र खोप लगाउने विधिहरुका बारे प्रशिक्षित गरेको स्वास्थ्य कार्यालयको रोटा भारइरस कार्यक्रमका सहजकर्ता बालकृष्ण भण्डारीले बताए । दुई दिवसीय अभिमुखीकरण बुधबारसम्म चल्नेछ ।

अभिमुखीकरणमा निमित्त प्रमुख पौडेल, भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईं, तथ्यांक अधिकृत चूडामणि लुइँटेलले सहजीकरण गरेका छन् ।