काठमाडौं । नेपालमा ‘कोरोना’ संक्रमणको जोखिम बढेपछि व्यक्तिगत सुरक्षाका हिसाबले मास्क लगाउनेको संख्या बढ्दो छ । त्यसैले पनि बजारमा मास्कको अभाव चर्केको छ ।

तर, चिकित्सकहरु मास्क प्रयोग गर्न नजाने उल्टै स्वास्थ्य समस्या निम्तने बताउँछन् । विश्वव्यापी स्वास्थ्य संकट निम्त्याइरहेको कोरोनाभाइरसका कारण अहिले बजारमा मास्कको खपत बढेको छ । माग बढेपछि औषधि पसल, सहरी क्षेत्रका अधिकांश डिपार्टमेन्टल स्टोर र खुद्रा पसलमा समेत मास्कको अभाव छ ।

बजारमा मास्क उपलब्ध हुन छाडेपछि व्यापारीले अभाव सिर्जना गरेका छन् भने विभिन्न निकायले स्थानीय कच्चापदार्थबाट मास्क बनाउन थालेका छन् । चिकित्सककाअनुसार स्थानीय बजारमा उपलब्ध भइरहेको मास्क सामान्य संक्रमणबाट बच्ने विकल्पमात्र हो ।

नेपाली बजारमा सजिलै पाइने ‘सर्जिकल’ मास्क उत्पादक तथा आपूर्तिकर्ताले नियमित ल्याइरहेको भए पनि निश्चित व्यापारीले अभाव सिर्जना गरेर मूल्यमा मनोमानी गर्न थालेपछि केही स्थानीय निकायले आफ्नै अग्रसरतामा मास्क उत्पादन सुरु गरेका छन् ।

ललितपुर महानगरपालिकाले स्थानीय कपडामा स्थानीय मदिरा मिसाएर मास्क बनाइरहेको छ भने दाङमा अल्लोबाट मास्क बनाउन थालिएको छ ।