तनहुँ । तनहुँकी एक साहसी आमाले चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर बचाउन सफल भएकी छन् ।

शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाएकी हुन् ।

चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक÷एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ ।

आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछि पछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन् । “चितुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्याउँदै चितुवाको पछि पछि दौडिएँ । छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आक्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भागेको थियो”, उनले भनिन् ।

अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिएका छन् । गाेरखापत्रकाे सहयाेगमा