फिक्कल । इलामको सूर्योदय नगरपालिका–१३ को पोखरीस्थित किरात टोलमा हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

सोही स्थानकी १७ वर्षकी किशोरी आकृति राईको शव हत्यापछि खाल्डोमा गाडिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । स्थानीय ज्योति माविमा अध्ययनरत उनी हिजो घरबाट विद्यालय हिँडेकी थिइन् ।

विद्यालय नपुगेपछि उनको खोजी थालिएको थियो । खोजतलासकै क्रममा स्थानीयले बुधबार अम्लिसो घारीमा रहेको तरुल खनेको खाल्डोमा पुरेको अवस्थामा उनको शव फेला पारेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डोबाट युवतीको शव निकालेर थप अनुसन्धान थालेको छ । प्रहरीले पोष्टमार्टमपछि मात्रै हत्याको बारेमा बिस्तृत जानकारी दिन सकिने बताएको छ ।