झापा । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अध्ययन र रोजगारीका लागि भारत गएका नेपाली पूर्वी नाका काँकरभिट्टाबाट धमाधम स्वदेश फर्कन थालेका छन् ।
नेपाल समेत कोरोनाको उच्च जोखिम परेपछि सरकारले उच्च सतर्कता अपनाईरहदा भारतसहित तेस्रो मुलुक पुगेका नेपाली त्रासका कारण फर्कन थालेका हुन् ।
आयात निर्यात, किनमेल, अध्ययन र उपचार गर्न जाने नेपालीको चहलपहल हुने काँकरभिट्टा नाका यतिबेला सुस्ताएको छ । बिहीबारदेखि बिशेष गरेर अध्ययन र रोजगारीका लागि भारत, भुटान र बंगलादेश गएका नेपाली फर्किरहेका छन् । नेपाल फर्किएकाहरुको दुवैतर्फ स्थापना गरिएको हेल्थ डेक्सबाट स्वास्थ्य परिक्षण हुने गरेको छ । कोरोनाका त्रासले कलेज तथा कार्यस्थलहरु बन्द हुन थालेपछि नेपाल फर्किएको उनीहरुले बताएका छन् ।
‘कोरानाका कारण कलेज पनि बिदा भयो’, विराटनगरकी शिवानी कार्कीले भनिन्, ‘घरमा बस्दा सुरक्षित हुने ठानेर फर्केको हुँ ।’
नाकामा स्थापन गरिएको हेल्थ डेक्सबाट हालसम्म २ युके्रनी नागरिकसहित १८ जना भारतीयलाई फिर्ता पठाइएको छ । नाकाहरुमा दुवैतर्फ उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएपछि भारत र नेपालतर्फका सिमावर्ती बजारहरु पानीट्याकी, नक्सलबारी, गलगलिया, काँकरभिट्टा, धुलाबारी, भद्रपुर सुनसान हुन थालेका छन् ।
नाकाबाट ओहोरदोहोर गर्नेहरु सँख्यामा कमी आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनले बिहीबार मात्र १३ हजार ५ सय ४० जना नेपाल प्रवेश गरेको जानकारी दिए ।
अघिल्लो दिन ११ हजार ७ सय ४८ जना नेपाल आएका थिए । गत चैत २५ यता यो नाकाबाट ७१ हजार ५० जना नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।