झापा । झापामा पनि कोरोना भाइरसको संक्रमणका शंंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमताको क्वारेन्टाइन तयार भएको हो ।

भद्रपुर नगरपालिका वडा नं. १० मा पर्ने कलवलगुढीमा झापामा पहिलो पटक बनेको क्वारेन्टाइनमा आवश्यक पूर्वधार तथा अत्यावश्यकीय स्रोतसाधनको ब्यवस्थापन भद्रपुर नगरपालिकाले गरेको छ । पोर्तेलका अनुसार भारतसँग खुला सिमनाका कारण दैनिक आवतजावत धेरै हुने र अति जोखिम क्षेत्र भएकाले पूर्व तयारी स्वरुप क्वारेन्टाइन तत्काल बनाईएको हो ।

यसैगरी कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको घोषणा कार्यन्वयन र जिल्लामा आउन सक्ने समस्या लगायतको बिषयमा सर्वपक्षीय छलफल भएको छ । जिल्ला समन्वय समिति झापाले सर्वपक्षीय छलफल गरेको हो ।

छलफलले कम्तिमा पनि ५० लाख रुपियाँको आपतकालीन कोष निर्माण गर्ने निर्णय भएको छ । कोषमा स्थानीय तह, सामाजिक संससंस्था र दाताहरुले रकम जम्मा गर्नेछन् ।
उक्त कोषमा जिल्लाका नगरपालिकाहरूले तीन लाखका दरले र गाँउपालिकाहरुले दुई लाखको दरले रकम जम्मा गर्ने गरेको जनाईएको छ ।

आपतकालीन कोष सञ्चालन तथा जिल्लामा विपद आएको अवस्थामा त्यसको ब्यवस्थापनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा समिति पनि बनेको छ ।

यसमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख सहित मानवीय सेवामा क्रियाशील संघसंस्थाहरु सदस्य रहेकाे गाेरखापत्र दैनिकमा पत्रकार विष्णुप्रसाद पोखरेलले लेखेका छन् ।