झापा । अर्जुनधारा नगरपालिकाको नगर युवा परिषदले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि हात धुने साबुन र बाल्टिन आइतबार वितरण गरेको छ ।

परिषदले नगरमा गठित ५५ वटा टोल विकास समिति र विभिन्न संघसंस्थालाई ६५ थान प्लाष्टिकको बाल्टिन र साबुन वितरण गरेको परिषदका संयोजक होम दुलालले जानकारी दिए । उनका अनुसार परिषदले ४३ हजार २ सय रुपैयाँको लागतमा उक्त सामग्री वितरण गरेको हो ।

यसैगरी,  बुधबारे साना शहरी खानेपानी तथा उपभोक्ता समिति बुद्धशान्ति झापाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ )को न्यूनीकरणको लागि धारा तथा साबुन पानीको व्यवस्था गरेको छ ।

बुद्धशान्तिका विभिन्न चोक बजार, टोलमा गरी करिब ८ ठाउँमा धारा र साबुन पानीको व्यवस्था गरेसँगै सम्पूर्णलाई सुरक्षित रहन आग्रहसमेत गरिएको समितिका अध्यक्ष लय भण्डारीले बताएका छन् । उनले आवश्यकता अनुसार अन्य ठाउँहरुमा समेत राख्ने बताए ।