भद्रपुर । चोरिएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सवारीधनी पत्ता लागेका तीन वटा मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यालय परिसरमा बोलाएर सवारी धनीलाई ती मोटरसाइकल हस्तान्तरण गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रहरीका अनुसार मे. ९ प ८४७२ नम्वरको मोटरसाइकल अर्जुनधारा नगरपालिका–११ को महेन्द्र कहङवाङले फिर्ता पाएका छन् । मे. ९ प ३९९९ नम्वरको मोटरसाइकल अर्जुनधारा ११ कै लक्ष्मीप्रसाद अधिकारीलाई बुझाइएको छ । को. १५ प ८६६१ नम्वरको मोटरसाइकल सुनसरीको रामधुनी नगरपालिका–२ का हेमन्तकुमार चौधरीले लगेका छन् ।

सवारीधनी पहिचान भएको थप एउटा मोटरसाइकल लिन सम्वन्धित व्यक्तिलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरी भएपछि खोजतलासका क्रममा प्रहरीले फेला पारेका थप नौ वटा मोटरसाइकलका धनी अझै फेला पर्न सकेका छैनन् । धनी भेटिनासाथ ती मोटरसाइकल पनि फिर्ता गर्ने एसपी कोइरालाले जानकारी दिए ।