काठमाडौं । नोवल कोरोना भाइरसको सम्भावित संकटसँग जुध्न सरकारले अत्यावाश्यकीय सामाग्री छिमेकी दुई मुलुक चीन र भारतबाट तीन दिनभित्र ल्याउने तयारी थालेको छ।

ती सामाग्री ल्याउनका लागि सरकारले दुवै छिमेकीलाई काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासमार्फत् पत्राचार गरिसकेको छ। चीन र भारत जुन देशले छिटो ती सामान दिन्छन्, त्यहीँबाट ल्याउने तयारीमा सरकार लागेको छ।

डिसेम्बरबाट फैलिएको कोरोना भाइरससँग जुधेर चीन करिब बाहिरिइसकेको छ। अर्कातिर भारतमा कोरोना भाइरसको संकट चुलिँदै गएको छ। यो अवस्थामा जुन देशले छिटो सामान दिन्छन्, त्यहाँबाट जहाज चार्टर्ड गरेर ल्याउने तयारीमा सरकार लागेको हो।

सरकारले विभिन्‍न १९ किसिमका स्वास्थ्य सामग्री उपलब्ध गराउन चीनलाई पत्रचार गरिसकेको छ। चीनले यसअघि नै कोरोनाको सम्भावित जोखिमसँग जुध्‍न आवश्यक सहयोग सामाग्री र स्वास्थ्यकर्मीसमेत उपलब्ध गराउन तयार रहेको जनाएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारकै मन्त्रीस्तरीय निर्णयानुसार चीनबाट स्वास्थ्य सुविधासहितका पाँचवटा मोबाइल एम्बुलेन्स, पोर्टेबल भेन्टिलेर सयवटा, अक्सिजन प्लान्ट एक सयवटा, एन९५ मास्क डेढ लाखवटा, सर्जिकल मास्क दुई लाखवटासहित १९ प्रकारका सामाग्री ल्याउन चीनलाई पत्राचार गरिएको छ।

भारतसँग मागियो १६ थरी सामान सरकारले भारतबाट पनि स्वास्थ्य सामाग्री ल्याउन पत्राचार गरेको छ। चीन र भारतमध्य एक देशबाट तीन दिनभित्र जहाज चार्टर्ड गरेर ती सामाग्री ल्याउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट एन ९५ मास्क डेढ लाखवटा, इन्फ्रारेड थर्मोमिटर १० हजार वटा, अक्सिजन प्लान्ट पाँचवटा र सर्जिकल ग्लोब्स दुई लाखवटा ल्याउने गरी पत्र लेखिएको हो।

‘दुवै छिमेकीलाई पत्र लेखेका छौं। यी सामान जुन देशले छिटो दिन्छन्, त्यहीँबाट तीन दिन भित्र ल्याउने गरी जुटेका छौँ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोरोनाको जोखिम विश्वभर बढिरहेका बेला सबै पूर्वतयारी गर्नुपर्ने भएको छ। त्यसकै लागि मेडिकल सामाग्री अभाव हुन नदिन यो निर्णय लिइएको हो।’