झापा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् ।

पूर्वी नाका काँकरभिट्टाको सोमबार स्थलगत निरीक्षण गर्न आएका मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल प्रवेश गराउनका लागि केन्द्र सरकार र गृह मन्त्रालयसँग कुरा गरिएको जानकारी दिए । ‘नाकाबाट नेपालीलाई भित्र छिराएपछि क्वारेन्टाइनमा बस्नु पर्नेछ’, मुख्यमन्त्री राईले भने ।

उनले माथिको निर्देशन नआएसम्म केहि समय धैर्य गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । सरकारले आइतबार एक हप्ताका लागि चीन र भारतका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो । नाका बन्द गर्ने निर्णयसँगै नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारणको नाकामा घुइँचो लागेको छ ।

भारत हिँडेका सयौँको संख्यामा सर्वसाधारण मेची भन्सार कार्यालयको गेट छेउको लक्ष्मीनारायण मन्दिर परिसरमा प्रहरीले रोकेको छ । त्यसैगरी भारतबाट नेपाल आएका सर्वसाधारणलाई मेची पुलमा सशस्त्र र जनपद प्रहरीले रोकेर राखेको छ ।

चीनको उहान सहरबाट विश्वभर फैलिरहेको उक्त संक्रमणले नेपालमा पनि देखा पर्न शुरु गरेको छ । मुख्यमन्त्री राईले संक्रमणबाट बच्न प्रदेश सरकारले ५० लाखको कोष खडा गरेको जानकारी दिए । स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने उनले बताए ।