काठमाडौं । संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेपछि यतिबेला नेपाल सुनसान जस्तै छ ।

गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्फ्यु लगाइन्छ भने सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ ।

मंगलबारदेखि गरिएको लकडाउन संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले प्रयोग गर्न पाउने अधिकार हो ।

संक्रामक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ । हुनत लकडाउन कर्फ्यु भन्दा केही लचक हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर संचालन हुन पाउँछन् ।

ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउनेछन् ।