पर्वत पोर्तेल,
काँकडभिट्टा । भारतको मुम्बईबाट फर्किएका १४ विद्यार्थीसहित सय बढी नेपाली भारतको पानीट्यांकीमा अलपत्र परेका छन् । नाकाबन्दीका कारण उनीहरु आउन नसकेका हुन् ।
पानीट्यांकीस्थित एसएसवीले उनीहरुलाई परिचय पत्र देखाएर नेपालतिर जाने अनुमति दिए पनि नाकाबन्दी र ‘लकडाउन’का कारण अलपत्र परेका हुन् । मेचीनगरकी उपमेयर मीना उप्रेतीले अलपत्र नेपालीलाई प्रवेश दिन गृहमन्त्रालयसँग समन्वय भइरहेको जनाइन् ।
उनले भनिन्, ‘अलपत्र नेपालीलाई क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश गराउन अनुरोध गरेका छौं ।’ उनका अनुसार अहिलेसम्म मन्त्रालयबाट कुनै निर्देशन आएको छैन ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले नेपालीहरु अलपत्र परिरहेको भए पनि उनीहरुलाई भारततिर बस्न अनुरोध गरिएको जनाए । भारतीय सुरक्षाकर्मीले नेपालीलाई राख्न चाहिरहेको छैन ।
‘भारतले नेपाल जा भन्छन्’, एक विद्यार्थीले सुनाए, ‘नेपालले आउन मिल्दैन भन्छ ।’ नाकाबन्दीका बाबजुत पनि सोमबार राति करिब २ हजारभन्दा बढी नेपाली आएका थिए । कान्तिपुरबाट