झापा । काेराेना भाइरसकाे सम्भावित संक्रमणकाे जाेखिम तथा त्यसबाट सिर्जित संकटकाे सामना गर्न अर्जुनधारा नगरपालिकाले तत्कालका लागि ४ नम्बर वडामा रहेको स्वास्थ्य चौकीको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि आज नगरपालिका क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय गरेको हो । एम्बुलेन्ससमेत तयारी अवस्थामा रहेको ४ नम्बर वडाको उक्त स्वास्थ्य चौकीको भवनमा १२ बेड रहनेछ । नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलका अनुसार आवश्यक परेमा नगरका अन्य स्थानहरु प्रयोग गरिने भएको छ ।

त्यस्तै, कोरोना भाइरससँगै अन्य महामारीसँग जुध्नका लागि नगर विपद् कोष स्थापना गर्ने निर्णय भएको छ । यसका लागि नगरपालिकाले तत्कालै १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत भूर्तेलका अनुसार नगर विपद् कोषमा नगरपालिकाको रकमसँगै स्थानीय संघसंस्था, कर्मचारी, नगरबासीसँग पनि सहयोगको आह्वान गरिएको छ । यसरी जम्मा भएको रकम महामारीको समयमा मात्र सही प्रयोजन गरिने पनि बताइएको छ ।

जसका लागि नगर प्रमुख हरिकुमार रानाको संयोजकत्वमा उपप्रमुख कमला खतिवडा आचार्य, सबै वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, अर्जुनधारा रेडक्रसका प्रतिनिधि सदस्य रहेको नगरस्तरीय समन्वय समितिसमेत गठन भएको छ । समितिले कोरोना भाइरसबारे सचेतना, विदेशबाट आएका व्यक्ति सेल्फ क्वारेन्टाइनमा बसे, नबसेको अनुगमन गर्ने भएको छ ।

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेका मेडिकल अफिसर डा. रविन्द्र ओलीको नेतृत्वमा १५ सदस्यीय रेपिड रेस्पोन्स टिम (आरआरटी) गठन गरिएको छ । यो टिमबाट क्वारेन्टाइनको काम सञ्चालन हुने बताइएको छ ।

त्यस्तै, कोरोना भाइरससँगै नगरमा हुने स्वास्थ्यसम्बन्धी गतिविधिका लागि नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलगायतको टिमले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले जानकारी दिए ।