बिर्तामोड । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमका कारण झापाका दैनिक तथा साप्ताहिक पत्रिकाको प्रकाशन बन्द हुने भएको छ ।

पत्रिकाका सम्पादक, प्रकाशकहरुको मंगलबार बिर्तामोडमा भएको छलफलले भोलि बुधबारदेखि पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा ९ वटा दैनिक तथा १८ वटा साप्ताहिक पत्रिका छन्। कोभिड १९ को संक्रमणको जोखिम तथा लकडाउनका कारण प्रकाशन र वितरणमा समस्या भएकाले बन्द गर्ने निर्णय गरेको प्रकाशक/सम्पादकहरुले जारी गरेको सूचनामा उल्लेख छ।

उनीहरुले पत्रिकाको प्रकाशन बन्दबारे सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएका छन्।

असहज परिस्थितिमा प्रकाशन बन्द गर्नुपरेकाले पत्रिकाको वर्गीकरण मूल्यांकनमा सहजीकरण गरिदिन पत्रकार महासंघलाई आग्रह गरिएको छ।