बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विदेशबाट आएका नागरिकको लगत सङ्कलन सुरु गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रहरीले उनीहरुको लगत सङ्कलन थालेको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पछिल्लो समय विदेशबाट आएका नेपाली नागरिकमा कोरोनाको सङ्क्रमण हुने खतरा रहेकाले उनीहरुको तथ्याङ्क सङ्कलन अभियान थालिएको बताए ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोनाको सङ्क्रमण देखिएपछि नेपाल उच्च जोखिममा रहेका बेला झापा प्रहरीले बैदेशिक रोजगारी वा अध्ययनबाट फर्किएकाहरुको विवरण सङ्कलन गर्न थालेको हो ।

प्रहरीले विदेशबाट फर्किएका नागरिकका विषयमा आवश्यक सूचना दिन र प्रहरीको लगत सङ्कलन अभियानमा सहयोग गर्न सबै स्थानीय तहका जनप्रतिनिधि र टोलबासीमा अपिल पनि गरेको छ ।

लगत सङ्कलन अभियानका लागि पूर्व प्रहरीहरु पनि परिचालित भएका छन् । युवा स्वयम् सेवकहरु पनि खटिएका छन् । अहिलेसम्म प्रहरीले विदेशबाट फर्किएर घर आएका ९१ जनाको तथ्याङ्क सङ्कलन गरिसकेको झापाका प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी दिए ।

उनीहरुमध्ये शङ्कास्पद अवस्थाका पाँच जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । ‘बिदेशबाट फर्किएकाहरु धेरै जोखिममा छन्’, एसपी कोइरालाले भने, उनीहरुमागि निगरानी राखिएन भने झन् जोखिम बढ्छ ।’