झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइने भएको हो ।

संस्थाको कार्यक्षेत्र प्रदेश १ का ६ वटा जिल्लामा रहेको छ । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लाहरुमा स्थापित क्वारेन्टाइन गृहमा रहने कोरोना शंकास्पद व्यक्तिहरुको लागि चामल, दाल, तरकारी लगायत खाद्य वस्तु सहाराले उपलब्ध गराउने उनको भनाई छ ।

हरेक जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा सहाराले अधिकतम् २० लाख रुपैयाँसम्मको खाद्यान्न उपलब्ध गराउने बुधबार साँझ निर्णय गरेको कार्यकारी प्रमुख गिरीले बताए ।

‘संस्थाका कर्मचारीहरुको स्वतःस्फुर्त कार्यक्रमअनुसार हरेकले एक दिनको तलब बराबरको रकम सहारा नेपाल कर्मचारी मानवीय कोषमा थप गर्नेछन् । सोही रकमबाट क्वारेन्टाइनमा रहनुपर्ने शंकास्पद बिरामीहरुका लागि खाद्य सामग्री प्रदान गरिनेछ’ सहाराका कार्यकारी प्रमुख गिरीले बताए ।