0 Shares

इलाम । इलाममा रहेको माईभ्याली फुटबल क्लबले इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) उपलव्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीको बेला स्वास्थ्यकर्मी पिपिईको अभावमा सामान्य मास्कको भरमा काम गर्नु परेको भन्दै पिपिई उपलब्ध गराएको क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

क्लबका सदस्य सुवास राई र दिपेश श्रेष्ठको उपस्थितिमा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले अस्पतालका मेडिकल सुपरिन्टेनडेण्ट डा. प्रभु शाहलाई उक्त सामग्री प्रदान गरेका हुन् । अनौपचारिक कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु पनि सहभागी थिए ।

विश्व मानव जातिलाई सुरक्षित गर्न जीवन दाउमा राखेर खटेका स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि सबै नागरिकले सोच पुर्याउनुपर्ने अवस्था आएकोले क्लबले यस्तो निर्णय गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष चेम्जोङले बताए ।

क्लबले ५० जना स्वास्थ्यकर्मीलाई ५५ हजार मुल्य बराबरको ३० थान पिपिई उपलव्ध गराएको हो । त्यस्तै, क्लबले देउमाई नगरपालिकालाई २० थान पिपिई उपलब्ध गराउने क्लबका सदस्य सुवास राईले जानकारी दिए ।

५० सैयाको इलाम अस्पतालमा अहिले १५ बेडको क्वारेन्टाइन बनाइएको छ । क्लबले यसअघि जिल्लामा स्थापना हुने कोरोना प्रतिकार्य कोषमा ५० हजार जम्मा गर्ने जनाइसकेको छ ।

संकटको समयमा सबै नागरिक एकजुट भएर लाग्न आवश्यक भएकोले क्लबको तर्फबाट कोषमा रकम जम्मा गरिएको जनाएको छ ।