झापा । जिल्ला विपद् व्यवस्थापन समिति झापाले झापाका सबै अस्पताललाई गेट २४ घण्टै खुल्ला राख्न निर्देशन दिएको छ ।

झापाका अस्पतालले दीर्घ रोगका बिरामी तथा आकश्मिक उपचारमा आएका बिरामीलाई गेटबाटै फर्काउने गरेको समाचार सार्वजनिक भएपछि समितिले निजी अस्पतालका सञ्चालकहरुलाई यस्तो निर्देशन दिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति र झापाका निजी अस्पतालका सञ्चालकहरुसँगको शनिबारको बैठकबाट आकश्मिक सेवा सञ्चालन गर्ने निर्णय गरी निर्देशन दिइएको समिति सदस्य एवम् नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले जानकारी दिए । उनले निजी हस्पिटलका गेटहरु शनिबारदेखि नै खुला राखिने र सबै हस्पिटलमा फिवर क्लिनिक चलाउने बैठकमा निर्णय भएको बताए ।

कोरोना भाइरसको संक्रमणका फैलिरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको समाचार र भिडियो सञ्चारमाध्यममा शुक्रबार सार्वजनिक गरेको थियो ।

झापाको बिर्तामोडमा संचालित बिएण्डसी, मनमोहन, बिर्तासिटी, अञ्जली, भद्रपुरको ओमसाई पाथिभरा र सरकारी अस्पताल मेची अञ्चल अस्पतालले आकस्मिक उपचारका निम्ति अस्पताल पुगेका बिरामीलाई गेटबाटै फर्काएका थिए ।

त्यस्तै, समितिले कोभिड–१९ को शङ्कास्पद विरामीको उपचार गर्ने जिम्मा भद्रपुरको मेची अञ्चल अस्पताल र बिर्तामोडको बिएण्डसी हस्पिटललाई दिइएको जनाएको छ ।

बिएण्डसीले पीपीई सेट नभई उपचार गर्न नसकिने जनाएपछि बुद्धशान्ति गाउँपालिकाका अध्यक्षको पहलमा आइतबारसम्ममा २८० सेट पीपीई ल्याउने पहल गरिएको ढकालले बताए ।